
काठमाडौं ।
विगत केही महिनादेखि आर्थिक संकट झेलिरहेको पाकिस्तानले साउदी अरेबियाको सहयोगमा सूचना प्रविधि क्षेत्रमा आफ्नो उपस्थिति बढाउने योजना बनाएको छ। दुई देशबीचको सहकार्यमा आगामी पाँच वर्षमा पाकिस्तानमा करिब १० करोड डलरका परियोजनाहरू सञ्चालन गरिने बताईएको छ। यसबाट एक हजारभन्दा बढी रोजगारी सृजना हुने अपेक्षा गरिएको छ।
हालै आएको एक रिपोर्टअनुसार साउदी अरेबियाका राजकुमार फहाद बिन मन्सुरले पाकिस्तानको सबैभन्दा ठूलो टेक सम्मेलनमा यो घोषणा गरेका हुन्। उनी सफ्टवेयर कम्पनी आईएलएसए इन्टर्याक्टिभका सह-संस्थापक पनि हुन्। राजकुमार फहदले साउदी-पाकिस्तान टेक फर्म स्थापना गर्ने बारे पनि जानकारी दिए। यसले दुई देशबीचको व्यापार सहज बनाउन मद्दत गर्ने बताए।
“आगामी पाँच वर्षमा हामी पाकिस्तान, साउदी अरेबिया र अन्य देशहरूमा १ हजार भन्दा बढी रोजगारी सिर्जना गर्न खोजिरहेका छौं। हामी कम्तिमा १०० मिलियन डलरको कुल मूल्यका ३०० भन्दा बढी परियोजनाहरू हुने अपेक्षा गर्दछौं,” उनले थपे, “हाम्रो कम्पनीको महत्वाकांक्षी योजनाहरू छन्। र यसका लागि हामी पाकिस्तान र अन्य देशहरूमा सफ्टवेयर कम्पनीहरू र विश्वविद्यालयहरूसँग साझेदारी गर्नेछौं।”
आईएलएसए इन्टर्याक्टिभको रियाद र लाहोरमा कार्यालय छ। यो कम्पनी पाकिस्तानी उद्यमी सलमान नासिरले सुरु गरेका थिए। राजकुमार फहदको टेक हाउस पहलले साउदी अरेबियामा मुख्यालय बाहेक पाकिस्तानमा शाखा खोल्ने योजना बनाएको छ।
कम्पनीले साउदी अरेबिया र पाकिस्तानबीचको सहकार्य बढाउने माध्यम उपलब्ध गराउन चाहेको उनले बताए। साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले पेट्रोलियमबाट हुने राजस्वमा निर्भरता घटाउन अन्य क्षेत्रमा व्यापार बढाउने लक्ष्य राखेका छन्।
प्रकाशित: २८ पुष २०७९, बिहीबार