Technology Khabar २८ पुष २०७९, बिहीबार
काठमाडौं ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले पालिका तथा वडा कार्यालय र विद्यालय समेतलाई प्रविधिमैत्री बनाउन सूचना, सञ्चार तथा प्रविधि (आईसीटी) सम्बन्धी तालिम सञ्चालन गरेको छ।
आधुनिक समयको विकास क्रमसँंगै प्रविधिको प्रयोग अनिवार्य हुँदै गएपछि गाउँपालिकाले आईसीटीसम्बन्धी तालिम सञ्चालन गरेको हो।
गाउँपालिका कार्यालय, वडा कार्यालय सामुदायिक विद्यालयको आधारभूत तहअन्तर्गत निम्न माध्यमिक विद्यालय सम्मलाई प्रविधिमैत्री बनाउन गाउँपालिकाले आईसीटी तालिम सञ्चालन गरेको जनाएको छ।
गाउँपालिकाका अनुसार कार्यालयअन्तर्गत विषयगत शाखामा कार्यरत कर्मचारी, वडासचिव र विद्यालयका कम्प्युटर शिक्षकको सहभागितामा तीन दिने आईसीटी तालिम सञ्चालन गरिएको छ।
विद्यालय समेतलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित सूचना, सञ्चार तथा प्रविधि (आईसीटी) सम्बन्धी तालिमको आयोजना गरिएको मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिए।
थापाका अनुसार गाउँपालिकाभित्रका सबै माध्यमिक र निम्न माध्यमिक विद्यालयका कम्प्युटर शिक्षक, गाउँपालिकाका विषयगत शाखाका कर्मचारी र सबै वडाका सचिवसमेत ३५ जनालाई आईसीटी तालिम प्रदान गरिएको छ।
तालिममा प्रविधिको प्रयोग तथा सूचना सञ्चारसम्बन्धी सैद्धान्तिक र प्राविधिक विषय सिकाइएको थियो । प्रविधिसम्बन्धी तालिमले सम्बन्धित क्षेत्रमा कार्यरत जनशक्तिलाई थप दक्षता हासिल गर्न सहयोग पुगेको छ भने पहिलोपटक तालिम लिनेलाई आधारभूत ज्ञान प्राप्त भएको र कामप्रति उत्प्रेरण जगाएको गाउँपालिकाका उपाध्यक्ष डण्डु लामाको भनाइ छ । विद्यालयसहित लक्षित क्षेत्रलाई प्रविधिमैत्री बनाउन तालिम फलदायी हुने पनि उपाध्यक्ष लामाले विश्वास लिएका छन्।
सूचना, सञ्चार तथा प्रविधि (आईसीटी)सम्बन्धी तालिममा पाँचथरको हिलिहाङ गाउँपालिकाका सूचना प्रविधि विज्ञ लक्ष्मी चौहानलगायतले सहजीकरण गरेका थिए। तालिम आइतबार, सोमबार र मङ्गलबार गरी तीन दिनसम्म सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। गोरखापत्रबाट
प्रकाशित: २८ पुष २०७९, बिहीबार