नयाँ प्रविधिको बढ्दो प्रयोगले परम्परागत खेलहरू बिर्सँदै बालबालिका

  • Technology Khabar | २७ पुष २०७९, बुधबार
नयाँ प्रविधिको बढ्दो प्रयोगले परम्परागत खेलहरू बिर्सँदै बालबालिका
सांकेतिक तस्बिर। स्कूले बालबालिकाहरु स्मार्टफोनमा रमाउँदै। फाइल तस्बिर।

काठमाडौं ।

शुक्लाफाँटा नगरपालिका–४ असैनाका मनिदत्त पन्त सानै छँदा घरआँगनमा साथीभाइसँग रमाइलो गर्दै खेलेका खेलको स्मरण गर्छन्। साथीभाइ मिलेर सामूहिकरूपमा परम्परागत खेल खेल्दाको मज्जा नै बेग्लै हुने गरेका पुराना स्मरणहरू उहाँ निकै रोचक ढङ्गले सुनाउँछन्।

“पुराना दिन सम्झिँदा अझै वचपनमै पुगेको महसुस गर्छु”, उनले भने, “पाँच दशकअघि साथीभाइसँग निकै रमाइलो गरेर पुस्तौँदेखि चल्दै आएका पुराना खेल खेल्थ्यौँ, त्यसमै रमाउथ्यौँ ।”

कबड्डी, गोला आकारका ढुङ्गालाई एकमाथि अर्को राख्दै मोजाको गोलो बलले हिर्काएर खेलिने टिपु, रुमाल लुकाउने, लुकामारी, चोर पुलिस, ठिणी (डण्डीबियो), गाई बाँध्ने, डोरी नाघ्ने, चुङ्गीलगायतका खेल त्यस बेला प्रचनमा रहेको उनी बताउँछन्।

गाई–गोरु चराउन जाँदा केटीहरूले रवरको गुच्छा बनाइ खेल्ने चुङ्गी, स–साना ढुङ्गालाई गोटीका रूपमा खेलिने गोट्टा, भिरालो क्षेत्रबाट काठको फल्याकमा चढेर टाढा पुग्ने घुसुडी, जमिनमा चार कुने रेखा बनाइ गोलो ढुङ्गा राखी एक खुट्टामाथि उचाल्दै अर्को खुट्टाले रेखा नछोइकन पार गर्ने अड्डुलगायतका खेल बढी खेलिने गरिथ्यो। बूढापाकाले गोरु चराउन जाँदा र घरमै पनि दुई–चार जना जम्मा भए बाघचाली खेल्ने चलन थियो । यी सबै पुराना खेल संरक्षण गर्न नसक्दा हाल हराउँदै गएका छन् । युवाहरूले आफैँ पैसाको जोहो गरी भलिबल नेट खरिद गरी भलिबल खेल्ने गर्दथे । एकअर्का गाउँका युवाबीच भलिबल र कबड्डीका प्रतियोगिता नै हुन्थे ।

“पुराना खेल खेल्दा चोटपटक लाग्ने जोखिम हुन्थ्यो”, करनबहादुर ऐरले भने, “शारीरिक व्यायाम निकै हुन्थ्यो, शारीरिक व्यायामकै कारणले रोगव्याधीको समस्या थिएन, घरकै पाकेको खाना खान्थ्यौँ, निकै तन्दुरुस्त हुन्थ्यौँ ।”

“साथीत्वको भावना निकै हुन्थ्यो, सामूहिक छलफल गर्ने, बहस गर्ने कार्यले पढाइमा बालबालिका अब्बल हुन्थे । अहिलेको जस्तो फेसबुक, टयुटर, इन्स्ट्राग्राम, युटयुवलगायतको चलन थिएन । कम्प्युटरमा, इन्टरनेटमा खेलिने खेल थिएन”, उनी भन्छन् “आजभोलि घरभित्रै एकै परिवारमा बस्नेबीच पनि कुनै किसिमको छलफल हुँदैन”,

शुक्लाफाँटा नगरपालिकाका निवर्तमान नगरप्रमुख दिलबहादुर ऐरले भने, “सबै जना आ–आफ्नै मोबाइलमा व्यस्त हुन्छन्, सहरबजारमा त एक छिमेकीले अर्को छिमेकीलाई नचिन्ने अवस्था आइसक्यो ।”

शारीरिक व्यायामको कमीका कारण बालबालिकमा विभिन्न किसिमका रोग देखापर्दै आएको उनले बताए। मोबाइल र कम्प्युटरमा एकहोरो हेर्ने र चलाउने भएकाले बालबालिकामा आँखाको दृष्टि कमजोर हुने समस्यासँगै एक ठाउँमा बसेर खेल्दा शारीरिक व्यायाम नहुँदा वचपनमै विभिन्न रोग लाग्ने गरेको उनले बताए। यस कार्यले बालबालिकामा स्मरण शक्तिसमेत कम हुँदै गएको उनको भनाइ छ ।

“पालिकाहरूले निर्माण गर्ने स्थानीय पाठयक्रममा पुराना खेललाई समेट्नुपर्छ, पाठयपुस्तममा अरु खेलझै पूरा खेल खेल्ने तरिका र विद्यालयमा खेलाउने गरिए पुराना खेल जोगिन्छन्”, उनले भने, “जोगाउने कार्य नगरिए बूढापाकासँगै पुराना खेल पनि सिद्धिन्छन् ।”

प्रकाशित: २७ पुष २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...