डिजिटल प्रणालीमार्फत किसानको बाली बीमा

  • Technology Khabar | २७ पुष २०७९, बुधबार
डिजिटल प्रणालीमार्फत किसानको बाली बीमा

काठमाडौं ।

कृषि बीमा अन्तर्गत, नेपालमै पहिलो पटक डिजिटल प्रणालीमार्फत बाँके, बर्दिया र नवलपरासीका ९४ जना धानबाली उत्पादक किसानको बीमा गरिएको छ।

एनएलजी बीमा कम्पनी लिमिटेड, सिआइएमएमवाईटी नेपाल, लुम्बिनी सीड कम्पनी,  गेट नेपाल, टिम वन टेक्नोलोजी र सीड इनोभेसन्स प्रालिलगायत स्थानीय कृषि निकायको समूह मिलेर धानवालीमा बीमा सुरु गरेका हुन् ।

पहिलो पटक बीमा गराएर धानबाली क्षति भएका बर्दिया बढैयातालका १० जना किसानलाई धानबालीमा क्षति भए बराबरको रकम वितरण गरिएको एनएलजी बीमा कम्पनीका प्रतिनिधी अनु हमालले बताईन्।

क्षति भएका किसानलाई क्षति बराबरको रकम ३ हजार ४०० देखि ३३ हजार रुपियाँसम्मको चेक हस्तान्तरण गरिएको छ। सुरुमा पानी नपरेर खडेरीको समस्या, किराहरूको समस्या र पछि ठूलो पानी आएर डुबानको समस्याले धानवालीमा क्षति पुगेपछि सोही क्षति अनुसारको रकम बीमा गराएका किसानलाई उपलब्ध गराइएको हमालले बताईन्।

सीड इनोभेसन्स प्रालिद्वारा निर्मित प्लान्टस्याट डिजिटल बीमा प्रविधिको प्रयोग गरी बीमालाई सहज, छिटो र छरितो होस् भन्ने उद्देश्यका साथ भू–उपग्रह स्वचालित मौसम स्टेशन र किसानले मोबाइल एपमार्फत खिचेको फोटो, भिडियोसहितको प्रक्रियामार्फत अनुगमन गरिएको थियो ।

क्षति दाबी गरेका किसानको खेतमा गई अन्तर्राष्ट्रिय मापदण्डअनुसार किसानको खेतको क्षेत्रफल हेरेर किसानको उत्पादन निकाली त्यही उत्पादनका आधारमा किसानको क्षति कति भयो भन्ने पुष्टि गरिएको बीमा कम्पनीले जनाएको छ।

प्रकाशित: २७ पुष २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...