
काठमाडौं ।
विद्यार्थीको शैक्षिकस्तर सुधार तथा पठनपाठनमा सहजीकरणका लागि तनहुँका एक समाजसेवीले विद्यालयलाई स्मार्ट टीभी सहयोग गरेका छन्। व्यास-५ भुपुटोल निवासी मनकुमार प्रधान हरिले म्याग्दे गाउँपालिका बडा-१ स्थिति कुलज्योति प्राथमिक विद्यालयलाई उक्त टीभी सहयोग गरेका हुन्।
सो विद्यालयको ५१औं अभिभावक दिवस तथा २२औं वार्षिकोत्सवको अवसर पारेर प्रधानले स्मार्ट टिभी सहयोग गरेका हुन्। दलित, गरिब, विपन्न र सीमान्तकृत समुदायका बालबालिका अध्ययन गर्न आउने भएकाले अध्ययनमा मद्दत पुयाउन सहयोग गरेको प्रधानले बताए।
“डिजिटल युगमा बिद्यार्थीको पढाइलाई केही सहज होस् भनेर सहयोग गरेको हुँ,” प्रधानले भने। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरमाया सुनारलाई ३२ इन्चको स्मार्ट टिभी प्रदान गरिएको छ।
विद्यालयका प्रधानाध्यापक पदमकुमार श्रेष्ठले स्मार्ट टीभीको सहयोगले अब टेलिभिजनबाट नै विद्यार्थीले अध्ययन गर्न सक्ने बताए। “डिजिटल युगमा प्रविधिको प्रयोग महत्त्वपूर्ण हुन्छ, जसले गर्दा विद्यार्थीको प्रविधिप्रतिको क्षमता विकासमा सहयोग हुन्छ,” प्रधानाध्यापक श्रेष्ठले भने। गोरखापत्रबाट
प्रकाशित: २७ पुष २०७९, बुधबार