
काठमाडौं ।
नेपाल टेलिकम भरतपुर कार्यालयले पुरानो प्रविधि र तारबाट वितरण हुँदै आएको ल्यान्डलाइन फोनलाई पूर्णरूपले हटाउने तयारी गरेको छ । पछिल्लो प्रविधिको प्रयोगका कारण पुरानो तामाको तारबाट सञ्चालन हुँदै आएका ल्यान्डलाइन फोनमा समस्या धेरै आउने र मर्मत गर्नको लागि समेत सामानको अभाव हुन थालेपछि फाइबर नेटबाट सञ्चालन हुने टेलिफोनलाई प्राथमिकता दिन थालिएको हो ।
टेलिकमको सुरुवातको समयबाट सञ्चालनमा आएका ल्यान्डलाइन फोन अहिले आठ सयको सङ्ख्यामा छन् ।
“१२ हजार पाँच सयको सङ्ख्यामा रहेका यस प्रकारका फोन हटाएर आठ सयमा झारेका छौँ,” नेपाल टेलिकम भरतपुरका कार्यालय प्रमुख नवीनकुमार मिश्रले भने, अब हामीले आउँदो माघ २२ गते हुने नेपाल टेलिकमको वार्षिक उत्सवको अवसर पारेर जिल्लामा सबै ल्यान्डलाइन फोन (पुरानो प्रविधिको) हटाएर फाइबर नेटबाट सञ्चालन हुने फोनको व्यवस्था गरिनेछ ।
अहिले पनि भरतपुर र यस आसपासमा नेटफोनको प्रयोग वृद्धि भएको जानकारी दिँदै फाइबर नेटबाट टेलिफोन चलाउनेहरू १५ हजारको सङ्ख्यामा रहेको प्रमुख मिश्रले बताए ।
फाइबर नेट जडान गरेपछि इन्टरनेट, टेलिभिजन, टेलिफोन र प्रयोगकर्ताको मोबाइलमा हरेक दिन तीन सय एमबीको डाटा प्याकको सुविधा पाइने भएकाले यसैमा उपभोक्ताको रुचि वृद्धि भएको छ । एउटै माध्यमबाट चार सुविधा भएपछि यसको प्रयोग वृद्धि भएको कार्यालयले जानकारी दिएको छ ।
एडीएसएलबाट नेटको प्रयोग घट्दो क्रममा रहेको कार्यालयले जनाएको छ । फाइबर नेटमा स्पिड धैरै हुने, राम्रोसँग नेट सञ्चालन हुनेगर्दछ । पुरानो प्रविधिको तारबाट इन्टरनेट सुस्त हुने भएकाले ग्राहक पनि फाइबर नेटतर्फ आकर्षित भएको कार्यालयले जानकारी दिएको छ ।
प्रविधिमा आएको विकासले गर्दा पनि टेलिकमले नयाँ प्रयोग गर्दै आएको छ । जिल्लाको भरतपुर, नारायणगढ, रत्ननगर, भण्डारालगायतका क्षेत्रमा फाइबर नेटको सुविधा छ । चितवनका सातवटा पालिकामध्ये पाँचवटा पालिकामा फाइबर नेटको सुबिधा पुगेको कार्यालय प्रमुख मिश्रले जानकारी दिए।
माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा भने फाइबर नेटको सुविधा अहिले नपुगे पनि त्यस क्षेत्रमा लैजाने योजना रहेको कार्यालयले जानकारी दिएको छ । नेपाल टेलिकमले पछिल्लो समय पुरानो ल्यान्डलाइन फोन हटाएर फाइबर नेटको फोन जडान गर्न लगाएपछि यसमा समस्या आउन थालेको उपभोक्ताहरूले गुनासो गर्न थालेका छन् ।
लोडसेडिङ भएको समयमा फोन नचल्ने, अन्य समयमा पनि समस्या आइरहने, डायल टोन नआउने, बोल्दा बोल्दै काटिनेलगायतको समस्या आउने गरेको उपभोक्ताको गुनासो रहेको छ। गोरखापत्रबाट
प्रकाशित: २७ पुष २०७९, बुधबार