प्रभु बैंकको एकिकृत कारोबार शुरु, अनलाइन बैंकिङमा हैरानी खेप्दै ग्राहकहरु

  • Technology Khabar | २६ पुष २०७९, मंगलवार
प्रभु बैंकको एकिकृत कारोबार शुरु, अनलाइन बैंकिङमा हैरानी खेप्दै ग्राहकहरु

काठमाडौं ।

प्रभु बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंकबीचको एकिकृत कारोबार शुरु भए पनि ग्राहकहरुको सास्ती भने कम भएको छैन। एकिकृत कारोबारका लागि आवश्यक डाटा माइग्रेसनका लागि दुबै बैंकहरुले गत शुक्रबारदेखि आज मंगलबार बिहानसम्म सबै सेवा नै बन्द गरेका थिए।

आज बिहानदेखि सेवा शुरु गर्ने दुबै बैंकहरुले जानकारी दिए पनि सेवाग्राहीले अझै पनि सास्ती भोग्नु परिरहेको छ। प्रभु बैंकका डिजिटल सेवाग्राहीहरुले कारोबार गर्न नै समस्या भोगेका गुनासो गरेका छन्।

‘प्रत्येक पटक बैंकको एप अपडेट हुँदा लगइन हराउने गरेको छ,’ एक प्रयोगकर्ताले भने, ‘यसपाली त एप अपडेट भएपछि लगइन नै गर्न सकिएको छैन। डिजिटल बैंकिङ प्रयोग गर्दा पनि हैरानी भोग्नुपर्यो।’

त्यस्तै अर्का एक ग्राहकले लगइन भएपनि भित्रको डाटाहरु हेर्न समस्या भोगेको गुनासो गरे।

टेक्नोलोजीखबरले पटक-पटक प्रभु बैंकको एपमा लगइन गर्न खोज्दा समेत ‘कनेक्सन इरर, कुडनट कनेक्टेड टु सर्भर एट द मोमेन्ट। फ्लिज ट्राइ एगेन’ भन्ने पपअप नोटिस आउने गरेको देखिन्छ।

उता प्रभु बैंकका एप हेड ऋषि न्यौपानले प्रभु बैंकको एपमा कुनै समस्या नभएको दाबी गरेका छन्।

‘लगइन गर्दा प्रभु बैंकको ग्राहकलाई कुनै समस्या हुँदैन। तर सेञ्चुरी बैंकको मोबाइल एप मर्जर हैन। डाटा माइग्रेसन गरेका हौं,’ न्यौपानेले टेक्नोलोजीखबरसँग भने, ‘सेञ्चुरी बैंकका मोबाइल एप प्रयोगकर्तालाई प्रभु बैंकको एप डाउनलोड गर्न अनुरोध गरेका छौं।’

उनकाअनुसार सेञ्चुरी बैंकका ग्राहकहरुलाई मोबाइल, इमेल, सामाजिक सञ्जाल मार्फत प्रभु बैंकको एपबाट लगइन गर्न सूचित गरिएको छ।

यस्तो गर्दा पनि यदि कुनै समस्या आएमा नजिकको बैंक शाखामा सम्पर्क गर्न उनले अनुरोध गरे। प्रभु बैंकको एपमा नै समस्या आएको हो भने आईटी शाखासँग बुझेर थप जानकारी दिने उनले बताए।

प्रकाशित: २६ पुष २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार