Technology Khabar २६ पुष २०७९, मंगलवार
काठमाडौं ।
एप्पलले छिट्टै भारतमा पहिलो भौतिक स्टोर खोल्ने भएको फाइनान्सियल टाइमम्सले रिपोर्ट प्रकाशित गरेको छ। एप्पलले स्टोरका लागि आवश्यक कर्मचारी नियुक्ती गर्ने प्रक्रिया शुरु गरिसकेको छ। भारतको विभिन्न क्षेत्रमा १२ खुद्रा भूमिकाहरुमा स्टोर लिडर, सिनियर म्याजेनर, जेन्यूएस बार वर्कर लगायत पदमा एप्पलले कर्मचारी भर्ना गर्न लागेको छ।
फाइनान्सियल टाइम्सका अनुसार मुम्बई र नयाँ दिल्लीमा रहेका कम्तिमा पाँच् कर्मचारीहरुलाई आगामी स्टोरहरुको लागि भर्न गरिसकिएको छ। रिपोर्ट अनुसार एप्पलले दिल्लीमा १० हजार देखि १२ हजार स्क्वायर फुटमा काम गरिरहेको छ। साथै देशको अन्य क्षेत्रको स्टोरमा पनि काम गरिरहेको छ। यी स्टोर कहिलेदेखि सञ्चालनमा आउँछन् भन्ने प्रष्ट छैन।
एप्पलले सन् २०२० मा भारतीय ग्राहकका लागि अनलाइन स्टोर शुरु गरेको छ। एप्पलका सीईओ टिम कुकले तत्कालिन समयमा सेयरहोल्डरहरुसँगको बैठकमा भारतमा भौतिक स्टोर खोल्ने संकेत गरेका थिए। उनले एप्पलले भारतमा सन् २०२१ मा पहिलो भौतिक स्टोर खोल्ने बताएका छन्। कोभिड १९ प्रकोपका कारण कम्पनी आफ्नो योजनाबाट पछि हटेको थियो।
भारतमा आफ्नो अधिक उत्पादन ल्याउनका लागि एप्पलले आफ्नो रिटेल फुटप्रिन्ट विस्तार गर्न खोजिरहेको छ। एप्पलले सन् २०१७ मा भारतमा पहिलो पटक आईफोन उत्पादन शुरु गरेको थियो र अहिले आईफोन १४ को उत्पादन चीनबाट भारतमा सारिएको छ।
एप्पल चीनको राजनीतिक अवस्था, मूल्य कटौती र खराब आर्थिक अवस्थाका कारणबाट चीनसँग दुरी बनाउन खोजिरहेको छ। यस्तोमा भारत आकर्षक उत्पादन हब बन्न सक्छ। चीन र भियतनाभन्दा भारतमा उत्पादन मूल्य सस्तो छ र स्मार्टफोनका लागि ठूलो बजारमा एप्पल केन्द्रित हुन खोजेको देखिन्छ।
प्रकाशित: २६ पुष २०७९, मंगलवार