
काठमाडौं ।
२०२२ मा आफ्नो ५० औँ वार्षिकोत्सव मनाएको रोल्याण्डले हालै सम्पन्न सीईएस २०२३ मा पचासौं वार्षिकोत्सवको अवसर पारेर एनिभर्सरी कन्सेप्ट पियानो प्रदर्शन गरेको थियो। जापानी फर्निचर निर्माता कारीमोकुसँग सहकार्य गरी रोल्याण्डले उक्त इलेक्ट्रोनिक पियानो निर्माण गरेको हो।
पियानोको बाहिरी भाग जापानी नारा ओक रुखको काठबाट निर्माण गरिएको र पियानोको भित्री भागमा ३६०–डिग्रीको १४ ओटा स्पिकर्सहरु सिस्टमहरु लुकाएर समावेश गरिएको बताइएको छ।
त्यसैगरी रोल्याण्डले पियानोको माथि उड्ने गरी ड्रोनहरुमा पनि स्पिकर्सहरु निर्माण गरेको र उक्त ड्रोनहरु प्रयोगकर्ताले नियन्त्रण गर्न सक्ने उल्लेख छ। तर उक्त उड्ने ड्रोन स्पिकर्सहरु सीईएसमा नउडाइकन तारहरुमा झूण्ड्याइएको बताइएको छ।
लो लेटेन्सी अडियो कनेक्सन र कम्पनीको ‘पियोर एक्वस्टीक एम्बीएन्स टेक’ मार्फत उक्त स्पिकर्सहरुले संयुक्त रुपमा कन्सर्ट हलमा सुनिने जस्तै प्राकृतिक रिभर्ब सटीक रूपमा सिर्जना गर्ने बताइएको छ।
ट्यूटोरियल स्ट्रिम गर्न, पियानो प्रशिक्षकसँग भिडियो कन्फ्रेन्स गर्न र रोल्याण्डको जेनबिट्सबाट संञ्चालन गरी उक्त पियानोलाई स्टुडियोमा परिणत गर्नका लागि पियानो माथि ठूलो टचस्क्रिन राखिएको छ। साथै पियानोलाई अन्य इन्स्ट्रुमेन्टसँग अन्तरक्रिया गर्नका निम्ति यूएसबी मिडिया र ब्लुटुथ कनेक्टीभिटी पनि समावेश गरिएको बताइएको छ।
यद्यपी रोल्याण्डको उक्त फिफ्थीयथ एनिभर्सरी कन्सेप्ट पियानो भने बिक्रीको लागि नभएको र कहिले पनि बिक्री नगरिने बताइएको छ।
प्रकाशित: २५ पुष २०७९, सोमबार