
काठमाडौं ।
कर्णाली प्रदेश सरकारले विपत्को समयमा उद्धार तथा राइतलाई सहज बनाउन प्रविधिको प्रयोगमा जोड दिने भएको छ। भौगोलिक विकटताका कारण उद्धार तथा राहतमा ढिलाइ हुँदा क्षति बेहोर्दै आएको अवस्थालाई मध्यनजर गर्दै प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको हो।
विपदसँग जुध्न कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले उद्धार र राहतका लागि हवाई यन्त्र ड्रोन को प्रयोग थालेको छ।
विपत्को समयमा हुने जोखिम घटाउन प्रविधिको प्रयोग सुरु गरिएको मन्त्रालयका सचिव दिनेश सागर भुसालले बताए। उनकाअनुसार, विपत्को समयमा ड्रोनको सहायताबाट उद्धारको काम गरिनेछ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग अहिले उक्त प्रयोजनका लागि एउटा ड्रोन छ। अन्य कतिपय मन्त्रालयमा पनि ड्रोनको व्यवस्था गरिएको सचिव भुसालले बताए ।
अहिले मन्त्रालयका बिपत् शाखा प्रमुख, सुरक्षा निकायका अधिकारी, आपत्कालीन कार्य सञ्चालन केन्द्रका अधिकारी, नागरिक उड्डयन प्राधिकरण, जल तथा मौसम बिज्ञान कार्यालय, भूकम्प मापन केन्द्रः नापी कार्यालय र नेपाल रेडक्रस सोसाइटीका गरी १५ जना जनशक्ति तयार पारिएको छ। गोरखापत्रबाट
प्रकाशित: २४ पुष २०७९, आईतवार