रसियन ह्याकर्सको निशानामा तीन अमेरिकी न्यूक्लियर रिसर्च ल्याब

  • Technology Khabar | २४ पुष २०७९, आईतवार
रसियन ह्याकर्सको निशानामा तीन अमेरिकी न्यूक्लियर रिसर्च ल्याब

काठमाडौं ।

रुसी ह्याकरहरुले अमेरिकाको तीन ओटा आणविक अनुसन्धान प्रयोगशालालाई निशाना बनाएका छन्। गत समरमा कोल्ड रिभर नाम गरेको रुसी ह्याकरहरुको समुहले ब्रुकहाभेन, अर्गोन र लरेन्स लिभरमोर राष्ट्रिय प्रयोगशालाका वैज्ञानिकहरु विरुद्ध फिसिङ अभियान सञ्चालन गरि पासवर्ड हत्याउन कोशिस गरेको रोयटर्सले उल्लेख गरेको छ।

गत अगस्ट र सेप्टेम्बरमा ह्याकरहरुले उक्त प्रयास गरेको हुन सक्ने आशंका गरिएको छ। उक्त समयमा भारी गोलाबारीपछि सम्भावित प्रकोपलाई रोक्न मद्दत गर्नका लागि संयुक्त राष्ट्र संघका विज्ञहरु रुस नियन्त्रित युक्रेनी क्षेत्रमा रहेको न्युक्लियर पावर प्लान्टको भ्रमणमा रहेका थिए। राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियार सहित रुसले दाबी गरेको क्षेत्रको रक्षा गर्नका लागि सदैव तयार रहेको संकेत गरेको उल्लेख गरिएको छ।

ह्याकरहरुको उक्त फिसिङ प्रयासहरु सफल भयो वा भएन भनी स्पष्ट नभएको र साथै उनीहरु प्रयोगशालाको सिस्टम माथि किन आफ्नो पहुँच जमाउन प्रयास गरिरहेका थिए भनी खुलस्त जानकारी पनि नभएको उल्लेख गरिएको छ।

गत वर्ष सोही समूहले बेलायतको विदेशी गुप्तचर सेवा एमआई ६ का पूर्व प्रमुखको इमेलहरु लीक गरेको बताइएको छ। त्यसैगरी कोल्ड रिभर समूहले युद्ध अपराधको अनुसन्धान गर्ने गैर–सरकारी संस्थाहरुलाई पनि निशाना बनाएको बताइएको छ।

प्रकाशित: २४ पुष २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...