
काठमाडौं ।
नेपालमा युवाहरुका माझ अनलाइन गेम वा मोबाइल गेम निकै लोकप्रिय रहेको छ। अधिकांश युवा वा किशोरकिशोरीहरुले कुनै न कुनै अनलाइन गेम खेल्ने गरेको बताईन्छ।
नेपालमा विशेषगरी पब्जी, कल अफ ड्युटी, लुडो, क्याराम जस्ता गेमहरु खेल्ने गरिन्छ भने कतिपय नेपाली युवाहरुले यस्ता गेमहरुको अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी समेत हुने गरेका छन्।
तर अधिकांश युवाहरु अनलाइन गेमको कुलतमा समेत पर्न सक्दछन्। विशेषगरी बालबालिका र किशोर किशोरीहरुले सँधै अनलाइन गेम खेल्ने गर्दा त्यसले अन्य कार्यहरुमा अवरोध आउन सक्दछ।
यसले नकारात्मक प्रभाव पनि पार्ने हुँदा अनलाइन गेमलाई सिमित गर्नुपर्ने बताईन्छ। यहाँ हामी अनलाइन गेमिङले पार्ने नकारात्मक असर वा प्रभावको बारेमा जानकारी दिने प्रयास गर्नेछौं।
प्रश्न: अनलाइन गेमिङले हामीलाई के हानि गर्न सक्छ?
उत्तर: यसले हामीलाई मानसिक, शारीरिक र आर्थिक रूपमा धेरै प्रकारको नोक्सान पुर्याउँछ। जस्तै-
अनलाइन गेमिङमार्फत धेरै ठगी भइरहेका हुन्छन्। यसमा कतिपय सामग्रीहरु खरिद गर्नुपर्ने हुन्छ र रकम खर्च भईरहन्छ।
गेम खेल्दै गर्दा, तपाईं कोसँग खेल्दै हुनुहुन्छ थाहा छैन। यस्तो अवस्थामा तपाईसँग खेल्ने खेलाडीले तपाईलाई साइबर बुलिङको सिकार बनाउन सक्छ।
अनलाइन गेमहरू चाँडै लत बन्छन्। त्यसैले खेल्न थाल्नेहरू ती गेमहरु नखेलि बस्न नसक्ने अवस्थामा पुग्दछन्।
केही अनलाइन शूटिंग र लडाइँका खेलहरूले हिंसालाई बढावा दिन्छन्। यस्तो गेम खेल्ने बालबालिकाको दिमागमा यसले नराम्रो असर गर्छ।
धेरै अनलाइन खेलहरू वयस्कहरूका लागि डिजाइन गरिएका छन्, तर नियमको कमीको कारण, बच्चाहरूले पनि खेल्न सक्छन्।
लामो समयसम्म खेल खेल्दा स्वास्थ्यमा नराम्रो असर पर्छ। मानिसहरू लामो समयसम्म एउटै पोजिसनमा बसेर वा सुतेर खेलिरहन्छन्। यसले धेरै समस्याहरु निम्त्याउन सक्छ।
अनलाइन गेमिङको लत लागेमा मानिस एकोहोरो हुने गर्दछ र अन्य व्यक्तिहरुसँग घुलमिल हुन चाहँदैन्। जसले गर्दा अनावश्यक झगडा वा तनाव उत्पन्न हुन सक्छ।
प्रकाशित: २३ पुष २०७९, शनिबार