
काठमाडौं ।
मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम सिस्टम (एमडीएमएस) तत्काल लागू नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन्।
नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि एमडीएमएस लागू गर्न थालेको थियो जसको बारेमा सामाजिक संजालमा तिब्र विरोध हुँदै आएको छ।
तर प्रधानमन्त्री दाहालले हालका लागि प्रणाली रोक्न निर्देशन दिएका हुन्।
भन्सार विभाग र नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रधानमन्त्री स्वयंले ‘तयारी पूरा गरेर अलि पछि लागू गरौं’ भन्ने निर्देशन दिएपछि यो प्रणाली स्थगित गरिएको बताईएको छ।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले रोक्न आदेश आएको जानकारी दिए।
“प्रधानमन्त्रीले अर्थ मन्त्रीलाई भन्नुभएको रहेछ र अर्थमन्त्रीले हामीलाई रोक्न निर्देशन दिनुभएको छ। हामीले नयाँ सूचना जारी गरेर हालका लागि रोक्नेछौं,” अध्यक्ष खनालले टेक्नोलोजीखबरसँग भने।
नेपाल दूरसञ्चार प्राधिकरणले पुस १५ गते शुक्रबारदेखि यो प्रणाली पूर्ण सञ्चालनमा ल्याउने भएकोले मोबाइल अनिवार्य दर्ता गर्न सार्वजनिक सूचना जारी गरेको थियो ।
अब प्रधानमन्त्रीको निर्देशनपछि यो प्रणाली लागू हुने मिति अनिश्चित बनेको छ।
यस सम्बन्धमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि चासो देखाएका थिए। जसमा मन्त्रालयमा यस बारेमा छलफल हुने समेत बताईएको छ।
यसअघि भन्सार विभागले पनि सूचना जारी गरेर नेपालमा मोबाइल सेटको गैर कानूनी आयात तथा विक्री वितरण नियन्त्रण गर्न नेपाल दूरसंचार प्राधिकरणले एमडीएमएस (Mobile Device Management System) कार्यान्वयनमा ल्याएको र भन्सारमा घोषणा नगरिएका मोबाइल सेट मिति २०७९/०९/१५ गते देखि दर्ता नगरिने र यस्ता मोबाइल सेट संचालनमा समेत रोक लगाइने व्यवस्था गरिएको जानकारी दिएको थियो ।
“अतः विदेशबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले प्रयोग गरिरहेका मोबाइल सेटहरु पनि सो प्रणालीमा दर्ता गर्नु पर्छ । एमडीएमएसमा दर्ता गर्न चाहिने प्रज्ञापन पत्र एवं घोषणाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र सम्बन्धित भन्सार विन्दुहरुमा सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ,” भन्सारको सूचनामा भनिएको छ।
अर्थ मन्त्रालयको मिति २०७७ जेठ १५ गतेको यात्रुले आफ्नो साथमा ल्याउन लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धी सूचना अनुसार मोबाइल थान एकमा कुनै किसिमको महशुल नलाग्ने उल्लेख गरेको थियो।
प्रकाशित: १५ पुष २०७९, शुक्रबार