
काठमाडौं ।
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ प्रणाली आज मोबाइल शुक्रबारदेखि चल्ने छैनन्। नेपाल दूरसञ्चार प्राधिकरणले पुस १५ गते शुक्रबारदेखि पूर्ण रूपमा एमडीएमएस सञ्चालनमा ल्याउन लागेको र उक्त प्रणालीमा आफ्ना मोबाइलहरु दर्ता गर्न भनेकोछ।
प्राधिकरणले एमडीएमएसमा दर्ता नभएका मोबाइलहरुलाई आगामी दिनमा अवैध घोषणा गरेर ग्रे लिस्टमा राख्ने छ र त्यसपछि छानबिन गरेर ब्ल्याकलिस्ट गर्ने छ।
सरकारले भन्सार छलेर राजस्व नतिरिकन अवैध रूपमा भित्रिएका मोबाइलको प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्यसहित उक्त प्रणाली सञ्चालनमा ल्याउन लागेको हो।
दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय प्राधिकरणले सार्वजनिक सूचना नै जारी गरेर शुक्रबारदेखि दर्ताबिनाका कुनै पनि मोबाइल प्रयोगमा रोक लगाइने जनाइएको हो। प्राधिकरणको सूचनाअनुसार आज पुस १५ गतेदेखि व्यावसायिक वा व्यक्तिगत रूपमा ल्याइएका मोबाइल यो प्रणालीमा अनिवार्य रूपमा दर्ता हुनुपर्नेछ।
“नियमानुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट मिति २०७९ पौष १५ गते देखि दर्ता नगरीने र यस्ता मोबाइल सेट सञ्चालनमा समेत रोक लगाईने हुदाँ व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरु प्रज्ञापनपत्र सहित राहदानि/नागरीकता/राष्ट्रिय परिचयपत्रको आधारमा मात्र mdms.nta.gov.np मा गई दर्ता गर्न अनुरोध गरिन्छ,” प्राधिकरणको सूचनामा भनिएको छ।
प्राधिकरणकाअनुसार व्यक्तिगत रूपमा नेपाल ल्याउने मोबाइल पहिलो दुई हप्ता वा १५ दिनसम्म दर्ताबिनै प्रयोग गर्न सकिनेछ। यस्तो सुबिधा पर्यटकहरुको हकमा पनि लागू हुने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए।
“नेपाल आउने पर्यटकहरुले १५ दिनसम्म चलाउन सक्ने र त्यसपछि पनि चलाउनुपर्ने भएमा भिसाको प्रमाण पेश गरेर दर्ता गर्न सकिने सुबिधा छ,” अध्यक्ष खनालले भने। उनले यस्तो सुबिधा व्यक्तिगत दर्तामा पनि लागू गरिएको बताए।
प्राधिकरणले गत भदौ ३० गते पहिलो पटक परीक्षण कालका एमडीएमएस प्रणाली सञ्चालनमा ल्याएको थियो । त्यसअघि प्रयोगमा रहेका जुनसुकै मोबाइललाई भने प्राधिकरणले स्वतः उक्त प्रणालीमा दर्ता गराएको थियो । असोजयता आयात भएका मोबाइललाई भने प्राधिकरणले अनिवार्य रूपमा दर्ता गराउनुपर्ने प्रावधान राखेको थियो।
प्राधिकरणले एमडीएमएस प्रणालीमा दर्ता नभएका मोबाइललाई कालोसूचीमा राखेर त्यस्ता मोबाइलमा ‘नेटवर्क लक’ गर्न प्राधिकरणले सेवा प्रदायकलाई निर्देशन दिनेछ। यस्त फोनहरु आगामी दिनमा प्रयोग गर्न नसकिने हुनेछन्।
यसैबीच प्राधिकरणका एक उच्च अधिकारीले हाल दर्ता नभएका फोनहरु समेत बन्द नहुने बताए । उनले हाल प्राधिकरणले बन्द गर्ने भन्दा पनि दर्तामा जोड दिएको हुँदा मोबाइल नै ब्लक नहुने स्पष्ट पारे।
“अवैध फोनलाई रोक्ने नै उद्देश्य हो । तर हाल झ्याप्पै बन्द गर्ने भन्ने होईन् । यसको गलत व्याख्या र संदेश गयो,” उनले टेक्नोलोजीखबरसँग भने,”हामीले त्यस्तो अहिलेका लागि गर्दैनौं। पुस १५ गतेदेखि भने दर्तामा कडाई र छानबिन हुने हो।”
उनकाअनुसार पुस १५ गतेभित्र प्रयोगमा रहेका सबै फोनहरु निर्वाध चल्नेछन्। तर आगामी दिनमा प्रमाण नभएका र दर्ता नगरिएका फोनहरु कुनैपनि बेला सार्वजनिक सूचना गरेर बन्द गरिने उनले बताए।
प्रकाशित: १५ पुष २०७९, शुक्रबार