
काठमाडौं ।
चीनको पेकिङ युनिभर्सिटीले एशियाको सबैभन्दा ठूलो अप्टिकल टेलिस्कोप निर्माण गर्न र बाँकी विश्वसँग खगोल विज्ञान क्षमतामा रहेको खाडललाई बन्द गर्न चाहेको छ।
परियोजनाले सन् २०२४ सम्ममा १९.७ फिट (६ मिटर) को एपर्चर भएको प्रारम्भिक टेलिस्कोप बनाउने लक्ष्य राखेको छ। यसको मिररलाई २०३० सम्ममा २६.२ फीट (८ मिटर)सम्म विस्तार गरिनेछ। अङ्ग्रेजीमा एक्सपेन्डिङ एपर्चर सेग्मेन्टेड टेलिस्कोप (ईएएसटी) भनिने यो परियोजनालाई पेकिङ विश्वविद्यालयले नेतृत्व गरिरहेको स्पेस डटकमले भनेको छ।
यो टेलिस्कोपले “चिनियाँ अप्टिकल एस्ट्रोनोमीमा पर्यवेक्षण क्षमतामा धेरै सुधार गर्नेछ,” पेकिङ विश्वविद्यालयको विज्ञप्तिमा भनिएको छ।
पूर्वीय गोलार्धमा यो सुविधा पहिलो विश्व-स्तरीय अप्टिकल टेलिस्कोप हुने भएकाले ईएएसटी संक्षिप्त नाम उपयुक्त भएको बताईएको छ। अहिले यस्ता प्रमुख सुविधाहरू पश्चिमी गोलार्धमा हवाईको मौना केआ, चिलीको अटाकामा र उत्तरपश्चिम अफ्रिकाको तटमा रहेको क्यानरी टापुहरूमा रहेको रिपोर्टमा उल्लेख छ।
ईएएसटी परियोजनाको पहिलो चरणले १८ हेक्सागोनल मिरर खण्डहरू मिलेर नासाको जेम्स वेब स्पेस टेलिस्कोपको मिरर जस्तो देखिने ऐना निर्माण गर्ने परिकल्पना गरेको छ। ऐनाको व्यास लगभग १९.७ फिट हुनेछ।
तर नयाँ स्पेस टेलिस्कोपको विपरीत, जसले पृथ्वीबाट १० लाख माइल (१५ लाख किलोमिटर) टाढा दोस्रो सूर्य-पृथ्वी लागारेन्ज बिन्दुमा परिक्रमा गर्छ, ईएएसटी तिब्बती पठारमा छिन्घाई प्रान्तको लेन्घु टाउन नजिकैको साइशिटेङ पर्वतमा लगभग १३,८०० फीट (४,२०० मिटर) को उचाइम बनाइनेछ।
दोस्रो चरणले ऐनाको वरिपरि १८ थप हेक्सागोनल खण्डहरूको रिङ्ग थप्नेछ, र यसलाई २०३० सम्ममा २६.२ फीट भन्दा ठूलो व्यासमा विस्तार गर्नेछ।
पेकिङ युनिभर्सिटीले अनुमान गरेअनुसार परियोजनाको लागत ५०० देखि ६०० मिलियन युआन बीचमा हुनेछ।
प्रकाशित: १५ पुष २०७९, शुक्रबार