नियुक्त भएको तीन दिनपछि बल्ल ट्विटरमा राखियो नयाँ प्रधानमन्त्रीको प्रोफाइल तस्विर

  • Technology Khabar | १३ पुष २०७९, बुधबार
नियुक्त भएको तीन दिनपछि बल्ल ट्विटरमा राखियो नयाँ प्रधानमन्त्रीको प्रोफाइल तस्विर

काठमाडौं ।

प्रधानमन्त्रीले संचालन गर्ने आधिकारिक ट्विटर ह्याण्डलमा दुई दिनपछि मात्र नयाँ प्रधानमन्त्रीको तस्विर अपडेट गरिएको छ।

प्रधानमन्त्रीले चलाउने आधिकारीक ट्विटर ह्याण्डल पीएमओ नेपाल (@PM_nepal_) मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त भईसकेको तीन दिन बितिसक्दा पनि अपडेट नभएको भन्दै सामाजिक संजालहरुमा चर्चा भएको थियो।

प्रधानमन्त्री दाहाल पुस १० गते प्रधानमन्त्री पदमा नियुक्त भएका हुन्।

त्यसैको प्रभावले गर्दा आजै मात्र प्रधानमन्त्री दाहालको प्रोफाइल तस्विर तथा ब्यानर तस्विर राखिएको छ। तर त्यसमा देखिने अन्य ट्विटहरु भने पुरानै रहेका छन्।

अघिल्ला प्रधानमन्त्री शेरबहादुर देउबाको कार्यकालमा भएका गतिबिधिहरुको बारेमा मे २७ तारिखसम्मका कुनै ट्वीटहरु राखिएको देखिन्छ।

यस बाहेक प्रधानमन्त्रीको आधिकारीक ट्विटर ह्याण्डललाई लक अर्थात तालाबन्दी समेत गरिएको छ। यसको अर्थ उक्त ह्याण्डल असुरक्षित भएको वा ह्याकरको निशानामा रहेको हुनसक्ने विज्ञहरुको अनुमान छ। यस बाहेक उक्त ह्याण्डलले आफ्ना ट्वीट सहितका गतिबिधिहरुलाई जनतासमक्ष सार्वजनिक गर्न नचाहेको र सिमित नेटवर्क भित्र मात्र रहन चाहेको अर्थ लाग्ने हुन्छ।

प्रधानमन्त्रीको आधिकारीक ट्विटर ह्याण्डल कस्ले चलाउँछ भन्ने प्रश्नमा प्रधानमन्त्री कार्यालयका प्राविधिक अधिकारी मनिष भट्टराईले उक्त ट्विटर ह्याण्डल नयाँ प्रधानमन्त्रीको स्वकिय सचिवालयले चलाउने जानकारी दिए।

“सचिवालयलाई ह्ययाण्डओभर भईसकेको छ। अहिले पुराना ट्वीटहरु आर्काइभ गर्ने प्रकृयामा रहेको जानकारी पाएको छु। त्यसपछि नयाँ प्रधानमन्त्रीको जानकारीहरु ट्वीटमा देखिनेछ,” उनले टेक्नोलोजीखबरसँग भने।

यसका साथै पीएमओ नेपाल ट्विटर ह्याण्डलमा किन लक गरिएको हो भन्ने बारेमा भने जानकारी नभएको उनले बताए।

यसअघि पनि केपी शर्मा ओलीको सचिवालयले हेर्ने ट्विटर ह्याण्डल शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि लामो समयसम्म हस्तान्तरण गर्न समस्या देखिएको थियो। पछि ओलीको ट्विटर एकाउन्ट आर्काईभ गरेसँगै नयाँ ट्विटर ह्याण्डल आएको थियो। जसलाई पछि ट्विटरसँग अनुरोध गरेर भेरिफाई गराईएको थियो।

प्रकाशित: १३ पुष २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...