ताप्लेजुङमा दुई सयलाई कम्प्युटर शिक्षा प्रदान गरिने

  • Technology Khabar | १३ पुष २०७९, बुधबार
ताप्लेजुङमा दुई सयलाई कम्प्युटर शिक्षा प्रदान गरिने
सांकेतिक तस्विर

काठमाडौं ।

ताप्लेजुङमा दुई सय जनालाई कम्प्युटर शिक्षा प्रदान गरिने भएको छ। कम्प्युटर साक्षरता अभियानमार्फत् राइट स्टेप एजुकेसन एकेडेमी नामक संस्थाले कम्प्युटर शिक्षा प्रदान गर्ने भएको हो।

सदरमुकाम फुङ्लिङमा मङ्गलबार पत्रकार सम्मेलन गर्दै आयोजक संस्था राइट स्टेप एजुकेसन एकेडेमीले एक वर्षभित्र दुई सय जनालाई कम्प्युटर शिक्षा प्रदान गर्ने जनाएको छ।

कम्प्युटर शिक्षाअन्तर्गत बेसिक प्रोग्राम (आधारभूत ज्ञान)देखि हार्डवेयर कोर्ष सम्मको सीप प्रदान गरिने संस्थाका निर्देशक दीपेन्द्र शर्मा पौडेलले जानकारी दिए। 

ताप्लेजुङमा स्थानीय पाथीभरा कम्प्युटर ट्रेनिङ सेन्टरको सहकार्यमा तालिम प्रदान गर्न लागिएको संस्थाका निर्देशक पौडेलले बताए। स्वरोजगार बन्नमा सहयोग पुर्याउने उद्देश्यसहित कम्प्युटर शिक्षासम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्नेगरी तालिम सञ्चालन गर्न लागेको पनि निर्देशक पौडेलले बताए।

उनले विद्यार्थीलाई कम्प्युटर सम्बन्धी एकवर्षे कोर्षमा सामान्य कार्यालयमा प्रायोजनमा आउने कम्प्युटर सीपअन्तर्गत बेसिक, डिजाइनिङ, एकाउन्टिङ, प्रोग्रामिङ र हार्डवेयर नेटवर्किङ शिक्षा पढाइने बताए। कम्प्युटर शिक्षा सिक्नेका लागि योग्यता न्युनतम् एसईई वा एसएलसी उत्तीर्ण गरेको हुनुपर्ने छ। तालिमका लागि एकजना विद्यार्थीले पाँचदेखि नौ हजार रुपियाँसम्म वार्षिक शुल्क तिर्नुपर्ने पनि संस्थाले जनाएको छ।

यता फरक क्षमता भएका (अपाङ्गता), अभिभावक बिहीन, कमजोर आर्थिक अवस्था भएका र क्षमतावान् जेहेन्दार विद्यार्थीलाई सहुलियत र निःशुल्क कम्प्युटर शिक्षा प्रदान गरिने पनि संस्थाले जनाएको छ। कम्प्युटरमा अनुभव तथा दक्षता हासिल गरेका शिक्षकले कम्प्युटर अध्यापन गराउने छन्। यो तालिम सञ्चालन गर्न फुङ्लिङ नगरपालिकासँग समेत समन्वय गरिरहेको संस्थाका निर्देशक पौडेलले बताए। 

कम्प्युटर शिक्षाजस्तो प्राविधिक ज्ञान तथा सीप सिक्न इच्छुक विद्यार्थीलाई सहयोग पुर्याउन तालिमका लागि राइट स्टेप एजुकेसन एकेडेमीसँग सहकार्य गरेको पाथीभरा कम्प्युटर ट्रेनिङ सेन्टरका प्रतिनिधि सचिन शेर्पाले बताए। यस अभियानलाई सफल बनाउन स्थानीय संस्थाको हैसियतले आफूहरु बढी जिम्मेवार भएर लागि पर्ने शेर्पाले बताए। 

विद्यार्थीको प्रवेश परीक्षासहितका प्रक्रिया पूरा गरेर आउँदो पुस २५ गतेदेखि कम्प्युटर कक्षा सुरु गर्ने तयारी गरिएकोसमेत आयोजकले जनाएको छ । कपिलवस्तुदेखि सुरु भएको अभियान ताप्लेजुङ आइपुग्दासम्म ५९ जिल्लामा संस्थाले कम्प्युटर शिक्षासम्बन्धी तालिम सञ्चालन गरेको छ ।

अभियान निरन्तर विस्तारको क्रममा रहेको पनि संस्थाका निर्देशक पौडेलले जानकारी दिए। गोरखापत्रबाट

प्रकाशित: १३ पुष २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार