
काठमाडौं ।
पाल्पाको निस्दी गाउँपालिकाका बालबालिकामा उमेर नपुगी विवाह गर्ने समस्या बढ्दै गएको छ। बाल विवाह न्यूनीकरणका लागि पालिका तथा सम्बद्ध निकायबाट विभिन्न प्रयास भए पनि त्यसले सार्थकता पाउन सकेको छैन।
मोबाइल फोनको दूरुपयोगले बाल विवाह गर्ने किशोर-किशोरीको सङ्ख्या बढेको हो। आधारभूत तहमा अध्ययन गर्ने किशोर-किशोरीले मोबाइलको प्रयोग गर्न थालेपछि सो समस्या बढेको लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक पदमबहादुर थापाले बताए।
उमेर नपुगेका बालबालिकाको हातहातमा मोबाइल भएकै कारण प्रेममा पर्ने र भागी बा मागी विबाह गर्ने गरेको उनी बताउँछन्। बाल विवाह न्यूनीकरण गर्न पालिकाले हरेक वर्ष सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
दातृ निकायले पनि हिंसा न्यूनीकरण र बाल विवाह न्यूनीकरण गर्न पटक पटक सेमिनार, गोष्ठी तथा भेलाजस्ता कार्यक्रम गरे पनि त्यसले सार्थकता नपाएको थापाले बताए।
बाल विवाह न्यूनीकरण गर्न किशोर-किशोरी अभिभावक र समाजका अगुवाको प्रतिबद्धता आवश्यक रहेको छ ।
विवाह गरेपछि कक्षा-६ देखि नै कक्षा छाड्ने समस्या रहेको विद्यालयका प्रधानाध्यापकको भनाइ छ । कक्षा ६ मा पढ्दापढ्दै विवाह भयो भनेर विद्यालय आउन छाड्ने गौरीशकर माध्यमिक विद्यालयका प्रधानाध्यापक केशबहादुर सुनारीले भने।
उमेर नपुगी विवाह गर्दा किशोर-किशोरी धेरै समस्यामा पर्ने गरेका छन् । अभिभावकमा जनचेतनाको कमीले आफ्ना सन्तानप्रति पढाइको वास्तै नगर्नाले पनि बाल विवाहको समस्या बढ्दै गएको उनले बताए।
सुनारीले चालू शैक्षिक सत्रमा मात्रै सात जनाभन्दा धेरै विद्यार्थी बाल विवाहका कारण विद्यालयमा आउन छाडेको बताए।
‘यस्तो समस्या हाम्रो बिद्यालयमा मात्र होइन, निस्दीका अधिकांश विद्यालयको हो, उनले भनिन, ‘बाल विवाह न्यूनीकरण गर्न स्थानीय सरकार, अभिभावक र बालबालिकालाई जिम्मेवार बनाउनुपर्छ ।’
बाल विवाह गर्ने विद्यार्थीमा घरमा नबसेर साथिकोमा बस्न जाने, मोबाइल फोनमा धेरै कुराकानी गर्ने, सामाजिक सञ्जालको प्रयोग गर्नेजस्ता समस्या रहेका छन्। उमेर नपुगी फोन प्रयोग गर्न दिनाले पनि बाल विवाहको समस्या बढ्दै गएको सरस्वती माध्यमिक विद्यालय गल्धाका प्रधानाध्यापक सुशील ढकालले बताए।
निस्दी गाउँपालिकाले भने तीन वर्षभित्र बालमैत्री स्थानीय शासन लागू भएको पालिका घोषणा गर्ने तयारी गरेको छ । जसमा ५१ वटा सूचकमध्ये शून्य बाल विवाह पनि पर्छ। अहिले पालिकाभित्र रहेको विभिन्न विद्यालयमा पुगेर बाल विवाह न्यूनीकरणसम्बन्धी विशेष अभियान सञ्चालन भइरहेको पालिकाका अध्यक्ष मुक्तबहादुर सारूले बताए। गोरखापत्रबाट
प्रकाशित: १२ पुष २०७९, मंगलवार