चीनमा बढ्दो कोरोना संक्रमणले ल्यापटप महँगो हुन सक्ने आशंका

  • Technology Khabar | १० पुष २०७९, आईतवार
चीनमा बढ्दो कोरोना संक्रमणले ल्यापटप महँगो हुन सक्ने आशंका
बिग डिजिटलमा बेच्न राखिएका बिभिन्न ब्राण्डका ल्यापटपहरु। सांकेतिक। फाइल तस्विर

काठमाडौं ।

कोरोनाको त्रास अझै टरेको छैन, र पछिल्ला दिनहरुमा चीनमा कोरोना संक्रमणका घटनाहरु तिब्ररुपमा देखिन थालेका छन्। त्यसलगत्तै भारतमा पनि कोरोना भाइरसलाई लिएर भारतीय सरकार सतर्क भएको छ।

नेपालमा पनि हालै दुबै छिमेकीहरुको कोरोनाको वृद्धिलाई लिएर सतर्कता अपनाउन भनिएको छ।

तर यी सबैको बीच चीनमा बढ्दो केसका कारण कम्प्युटर र ल्यापटप महँगो हुने खबर पनि आएको छ। चीनमा कोरोनाका बढ्दो केसका कारण उद्योगहरूमा श्रमिकको अभाव हुन सक्ने रिपोर्टले देखाएको छ। जसले नयाँ पीसी र ल्यापटपको लन्चिङ्गमा पनि प्रभाव पार्न सक्छ। यसबाहेक पार्टपुर्जाको उत्पादनमा पनि कमी आउन सक्नेछ, जसले उपकरणको मूल्यमा पनि असर पार्न सक्छ ।

सञ्चारमाध्यमका अनुसार कोरोनाका कारण चीनमा कम्प्युटर र ल्यापटप उत्पादन गर्ने कम्पनीका आपूर्तिकर्ताको कठिनाइ बढेको छ। धेरै कम्पनीका कामदार कोरोना संक्रमित भएकाले उत्पादनमा असर परेको छ। धेरै कम्पनीको उत्पादन रोकिएको छ। जसका कारण पार्टपुर्जा ढुवानीमा पनि समस्या छ। यसले कम्प्युटर र ल्यापटप जस्ता उत्पादनहरूलाई असर गर्नेछ।

यसैबीच, कोरोनाका कारण धेरै कम्पनीहरूले पहिले नै म्यानपावरको अभावको सामना गरिरहेका छन्। यी सबै कुराको प्रभाव प्राविधिक क्षेत्रमा देख्न सकिन्छ। जसका कारण उपकरण र ग्याजेटको मूल्य पनि बढ्ने अनुमान गरिएको छ।

प्रकाशित: १० पुष २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार