
काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले विद्युत लाईन सप्लाई काटी अत्यावश्यक दूरसञ्चार सेवा अवरुद्ध पारेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले गंभिर चासो व्यक्त गरेको छ। यसका साथै अत्यावश्यक सेवा अन्तरगत रहेको दूरसञ्चार सेवा अवरुद्ध गर्नेलाई कारबाही गर्न समेत माग गरेको छ।
दूरसञ्चार क्षेत्रको नियामक निकाय दूरसञ्चार प्राधिकरणले केहि दूरसञ्चार सेवा प्रदायकहरुको विद्युत लाईन सप्लाई विद्युत प्राधिकरणले काटिदिँदा राज्यका धेरै स्थानहरुमा इन्टरनेट सेवा अवरुद्ध हुनपुगी बैंकिङ्ग सेवा, हवाई सेवा लगायतका अत्यावश्यक सेवाहरु अवरुद्ध हुन पुगेको जनाएको छ।
दूरसञ्चार ऐन, २०५३ अनुसार कसैले पनि यस्तो सेवा प्रवाह अवरुद्ध गरेमा दण्डनीय हुने व्यवस्था भएको स्मरण गराउँदै प्राधिकरणले यसरी दूरसंचार सेवा अवरुद्ध गर्ने कार्य प्रति यस प्राधिकरण गम्भीर दुख: व्यक्त गरेको छ।
“राज्यको अति आवश्यक दूरसञ्चार सेवा अवरुद्ध गर्ने जो कोहीलाई कानुनी कारवाही गर्न र यस्ता पूर्वाधारको सुरक्षा गर्न सम्वन्धित सबैलाई अनुरोध गर्दछौं। साथै हरेक समस्याको समाधान वार्ताबाट मात्र हुन सक्ने हुदा सबै पक्ष वसी आपसी छलफलबाट समस्याको समाधान गरी अत्यावश्यक दूरसञ्चार सेवाको निर्वाध उपयोग गर्ने/गराउने व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संघ नेपाल तथा सम्वद्ध सम्वन्ध सबै पक्षमा हार्दिक अनुरोध गर्दछौं,” दूरसञ्चार प्राधिकरणले आफ्नो सूचनामा भनेको छ।
प्रकाशित: ८ पुष २०७९, शुक्रबार