
काठमाडौं ।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को अध्यक्षमा रणजित पोद्दार निर्विरोध निर्वाचित भएका छन्।
क्यान महासंघको आगामी कार्यकालका लागि उनी नयाँ अध्यक्षमा आएका हुन्। नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा पोद्दारको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्।
यदपी उनी निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा भएको छैन्। घोषणा शनिवार हुनेछ।
नवनिर्वाचित अध्यक्ष पोद्दारले सबैलाई एक बनाएर लाने योजनाका साथ उम्मेदवारी दिएको बताएका थिए।
अध्यक्ष पदसहित अन्य केहि पदहरुमा पनि निर्विरोध भएको उनले जानकारी दिए।
पोद्दार हाल कार्यसमितिमा उपाध्यक्षका रुपमा कार्यरत थिए। उनी कम्प्युटर व्यवसाय गर्ने कम्पनी साथी ट्रेडिङ्स इन्टरनेसनलका सञ्चालक हुन्।
महासंघको नयाँ कार्यसमितिका लागि निर्वाचन समितिले बुधबार साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता तथा दाबी विरोधका लागि समय तोकेको थियो।
यसका साथै क्यान महासंघको संस्थागत, लेखा समिति र व्यक्तिगत लाइफ सहितका अन्य पदहरुमा पनि निर्विरोध निर्वाचित भएका छन्।
संस्थागतर्फ निर्वाचित हुनेमा विश्वराम बलामी, बुद्धरत्न मानन्धर, उमेश रघुवंशी, केशव भट्टराई, सरिता थिङ्ग र आग्मा मालाकार रहेका छन्। लेखा समितितर्फ हृदयमान श्रेष्ठ र विक्रान्त कार्की निर्विरोध निर्वाचित भए।
नवनिर्वाचित अध्यक्ष पोद्दारले अन्य पदहरुमा पनि उम्मेदवारहरुलाई मिलाउने काम भईरहेको जानकारी दिए।
“यहि शनिवार मतदान हुँदैछ तर त्यसअगाडी नै सकेसम्म सबै पदहरुमा मिलाउन प्रयासरत छौं,” उनले टेक्नोलोजीखबरसँग भने, “नमिलेमा निर्वाचन त भईहाल्छ।”
प्रकाशित: ७ पुष २०७९, बिहीबार