कम्प्युटर साइन्स विषयको समूहीकरण सम्बन्धमा स्पष्ट पार्दै परीक्षा बोर्ड

  • Technology Khabar | ७ पुष २०७९, बिहीबार
कम्प्युटर साइन्स विषयको समूहीकरण सम्बन्धमा स्पष्ट पार्दै परीक्षा बोर्ड

काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ मा अध्यापन हुने कम्प्युटर साइन्स विषयलाई चौथो समूहबाट दोस्रो समूहमा समूहीकृत गरिएको जानकारी दिएको छ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को मिति २०७२ भदौ १९ गतेको निर्णयानुसार साधारण धारतर्फ कक्षा ११ र १२ मा अध्यापन हुने कम्प्युटर साइन्स विषयलाई चौथो समूहबाट दोस्रो समूहमा समूहीकृत गरिएको उल्लेख गरेको छ।

परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) को सूचनामा निर्णयअनुसार सोही बमोजिम शैक्षिक सत्र २०७९/०८० को कक्षा ११ को रजिस्ट्रेसन फाराम भर्नुपर्नेमा केही विद्यालयहरूले सूचना अवगत नभएका कारण कम्प्युटर साइन्स विषयलाई चौथो समूहमा नै समूहीकृत गरी पठनपाठन गराएकोमा ध्यानाकर्षण भएको बताएको छ।

सो बारेको सूचना प्रकाशन गर्दा समूह परिवर्तनको पनि सूचना सम्प्रेषण गरिएकोमा त्यस कारणले विद्यार्थीहरूको समस्या हुनसक्ने विषयलाई ध्यानमा राखी यस शैक्षिक सत्र २०७९/०८० मा मात्र हुनेगरी साविककै चौथो समूहमा राखी वा दोस्रो समुहमा नै राखेर छनोट गर्न सकिने स्पष्ट पारेको छ।

“केही विद्यालयहरूले सूचना अवगत नभएका कारण कम्प्युटर साइन्स विषयलाई चौथो समूहमा नै समूहीकृत गरी पठनपाठन गराएकोले सोही अनुसार निरन्तरता दिनका लागि अनुरोध भई आएको भन्दै विद्यार्थीहरूको समस्यालाई ध्यानमा राखी यस शैक्षिक सत्र २०७९/०८० मा मात्र हुनेगरी कम्प्युटर साइन्स विषय साबिककै चौथो समूहमा समेत राखी विषय छनोट गर्न सकिने साथै दोस्रो समूहमा समूहीकृत गरी अध्यापन गराइरहेका विद्यालयहरूले दोस्रो समूह अन्तर्गत नै छनोट गर्न सकिने व्यहोरा अवगत गराएको छ,” सूचनामा भनिएको छ।

तर आगामी शैक्षिक सत्रबाट अनिवार्य रूपमा कम्प्युटर साइन्स विषय दोस्रो समूहमा समूहीकृत हुने व्यवस्था गरिएको समेत बोर्डले जनाएको छ।

प्रकाशित: ७ पुष २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...