‘दुई महिनापछि भरतपुरबाटै लाइसेन्स वितरण’

  • Technology Khabar | ७ पुष २०७९, बिहीबार
‘दुई महिनापछि भरतपुरबाटै लाइसेन्स वितरण’

काठमाडौं ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले दुई महिनाभित्र भरतपुरबाट नयाँ सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) वितरण हुने बताएकि छन्।

यातायात व्यवस्था कार्यालय भरतपुरमा नवनिर्मित भवनको बुधबार अनुगमनपछि प्रमुख दाहालले भनिन् “दुई महिनाभित्र सवारी परीक्षणसहितको नयाँ लाइसेन्स यहीँबाट वितरण हुनेछ।”

उनले चार वर्षअघिदेखि भरतपुरमा सबै सुविधासहितको यातायात कार्यालय ल्याउने कार्यको थालनी गरेको स्मरण गरिन्। उनले चितवनबाट लाइसेन्स वितरणपछि चितवनवासी र छिमेकी जिल्लाका सेवाग्राहीलाई सेवा लिन सहज हुने बताईन्।

उनले भनिन्, “देशको केन्द्र भागमा भरतपुर रहेकाले धेरैले सेवा लिनुहुनेछ। यहाँको आर्थिक क्रियाकलाप पनि वृद्धि भएर जानेछ, चितवनवासीका लागि गर्वको विषय हो ।” कार्यालयको सेवा सञ्चालनका लागि आवश्यक अस्थायी संरचना निर्माण गर्न महानगरपालिका सकारात्मक रहेको नगरप्रमुख दाहालको भनाइ छ।

कार्यालयले नयाँ लाइसेन्स वितरण छिटोभन्दा छिटो गर्ने उद्देश्यसहित प्राविधिक कार्यालयलाई तीव्र रूपमा अघि बढाएको छ। यातायात व्यवस्था कार्यालयको आफ्नै स्वमित्वमा हुने गरी कार्यालय भवन निर्माण गर्न महानगरपालिकाले भरतपुर–११, आँपटारीमा रहेको सार्वजनिक जग्गालाई भोगाधिकार दिने गरी आवश्यक प्रक्रिया पनि बढाइसकेको छ।

नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयपछि यो विषय टुङ्गो लगाउनेछ।

चितवनका नागरिक अहिले लाइसन्स लिनका लागि काठमाडौँ, पोखरा, बुटवल, हेटौँडा र वीरगञ्ज जानुपर्ने बाध्यता छ। भरतपुरमा नयाँ लाइसेन्स वितरण गर्न ट्रायल सेन्टर छनोट गर्ने कार्य पनि अन्तिम चरणमा पुगेको छ । अन्तिम दुईमा भरतपुरका महालक्ष्मी ट्रायल सेन्टर र सद्गुरु ट्रायल सेन्टर छनोट भएका थिए। अब १५ दिनभित्र ट्रायल सेन्टरको पनि टुङ्गो लाग्ने यातायात व्यवस्था कार्यालय भरतपुरका प्रमुख कालीबहादुर भुजेलले जानकारी दिए।

लाइसेन्सको ट्रायल दिन आउनेको स्वास्थ्य परीक्षणका लागि सूचीकृत हुन स्वास्थ्य संस्थालाई १५ दिने सूचनाबाट आह्वान गरिएको कार्यालय प्रमुख भुजेलले जानकारी दिए। गोरखापत्रबाट

प्रकाशित: ७ पुष २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...