Technology Khabar ७ पुष २०७९, बिहीबार
काठमाडौं ।
स्मार्टफोनहरुको चिपसेट बजारको तिव्र प्रतिस्पर्धामाझ कम्पनीहरु एक-आपसमा पर्फरमेन्स र बजार हिस्सा ओगट्ने हिसाबको आधारमा आफूलाई अरुभन्दा अव्बल साबित गर्न तत्पर लागिपरेका देखिन्छन्।
काउन्टरपोइन्टको ग्लोबल स्मार्टफोन एप्लिकेसन प्रोसेसर (एएपी) मार्केट रिसर्च डाटाअनुसार क्वालकम र एप्पल अहिले पावरको आधारमा अग्रगामी कम्पनी भएतापनि बजार हिस्साको आधारमा मिडियाटेकको वर्चस्व रहेको उल्लेख गरेको छ।
पछिल्लो त्रैमासमा मिडियाटेकले ३५ देखि ४० प्रतिशतको स्थिर बजार हिस्सा कायम गरेको बताइएको छ। प्रिमियम सेगमेन्ट अन्तर्गत मिडियाटेकको डिमेन्सीटी ९२०० एसओसीको सफलताको साथै भिभो र ओप्पो जस्ता मुख्य चिनियाँ सक्कली उपकरण उत्पादकहरुसँगको (चाईनीज ओईएम्स) साझेदारीले गर्दा मिडियाटेकले बजार हिस्सामा वर्चस्व कायम राख्न सफल भएको उल्लेख गरिएको छ।
तर कमजोर चिनियाँ बजारको साथै मुख्य चिनियाँ ओईएम्सद्वारा गरिएको अर्डर कटौती र ग्लोबल बृहत अर्थतन्त्रको अवस्थासंगै हाल चलिरहेको ग्राहक सूची समायोजन जस्ता विभिन्न कारणहरुले गर्दा २०२२ को चौँथो क्वाटरमा आएर समग्र बजारको गतिमा सुस्तता आउने अपेक्षा गरिएको बताइएको छ।
क्वालकमको बजार हिस्सामा थोरै वृद्धि भएको रिपोर्टमा उल्लेख गरिएको छ। २०२१ को तेस्रो क्वाटरमा २७ प्रतिशत र २०२२ को क्वाटरमा ३१ प्रतिशतले क्वालकमको बजार हिस्सामा वृद्धि भएको बताइएको छ। प्रिमियम सेगमेन्ट अन्तर्गत क्वालकमको स्न्यापड्रागन चिपसेट निकै प्रभावशाली रहेको र हालै क्वालकमले सामसङ कम्पनीसंग सामसङ ग्यालेक्सी एस २३ सिरिजको लागि साझेदारी गरेको घोषणा पनि गरेको बताइएको छ।
यद्यपी क्वालकमको बजार हिस्सा पनि २०२२ को चौथो क्वाटरमा आएर ग्लोबल म्याक्रोईकोनमिक्सको अवस्थासंगै उपभोक्ता उत्पादन खरिदमा आएको मन्दी र चिनियाँ ओईएम्सद्वारा गरिएको अर्डर कटौती जस्ता विभिन्न कारणहरुले गर्दा कम हुने अपेक्षा गरिएको बताइएको छ।
त्यसैगरी एप्पलको बजार हिस्सामा २०२१ को चौथो क्वाटर र २०२२ को दोस्रो क्वाटरमा महत्वपूर्ण वृद्धि भएको रिपोर्टमा उल्लेख गरिएको छ। एप्पल आईफोन १४ प्रो र ए१६ बायोनिक चिपसेटको अनावरणले गर्दा क्युपर्टिनो कम्पनीको बजार हिस्सामा उक्त वृद्धि भएको बताईएको छ।
एप्पलको विशेष गरी प्रो मोडलले सफलता प्राप्त गरेको र हाल चीनमा फेरी कोभिड–१९ को लहर बढेकोले उत्पादनमा उत्पन्न भएको समस्याहरुले गर्दा एप्पल चिपसेटहरुको सिपमेन्ट २०२२ को चौथो क्वाटरमा वृद्धि हुने भनी अपेक्षा गरिएको छ।

प्रकाशित: ७ पुष २०७९, बिहीबार