राहदानीको अनलाइन फाराम विभाग भन्दा जिल्लालाई प्राथमिकता

Technology Khabar ६ पुष २०७९, बुधबार

काठमाडौं ।

राहदानीको आवेदन फाराम अनलाइनबाटै भर्न सकिने सुविधासहित अनलाइन आवेदन सुरु भएको वर्ष नाघेको छ तर २०७८ मङ्सिर १ देखि राहदानी विभागले ल्याएको सुविधा साँच्चिकै अनलाइनका रूपमा कहिल्यै रहेन ।

अनलाइन फाराम भर्ने सुविधा भनेको इन्टरनेटको पहुँचमा रहेको जुनसुकै स्थानबाट जतिबेला पनि फाराम भर्न पाउने व्यवस्था हो तर राहदानी विभागको अनलाइन सुविधा न २४ घण्टा नै उपयोग गर्न पाइन्छ न सबै जिल्लाका लागि एकनासको नै छ । त्यसमाथि प्रतिदिन एक हजार छ सय कोटा तोकिएको छ ।

तोकेको समयमा मात्र अनलाइनको फाराम भर्न सक्ने व्यवस्थाका कारण राहदानी लिन चाहनेले निकै सास्ती भोग्नु पर्यो । त्यसैले जिल्लाबाटै विद्युतीय राहदानी दिने व्यवस्थालाई सहज बनाउन विभागले आफ्नो अनलाइन सुविधाको नीति परिवर्तन गरेको छ। पुस ५ गते मङ्गलबारदेखि लागू हुनेगरी अनलाइन फाराम भर्ने समय बिहान ११ बजेबाट परिवर्तन गरेर अपराह्न साढे ३ बजे बनाएको छ।

विभागमा भीडका कारण जिल्लाको सेवासमेत प्रभावित हुन थालेकाले विभागले नयाँ नीति अपनाएको हो । जसअनुसार विभागले पहिले जिल्लाहरूले सेवा दिएपछि मात्र आफूले अनलाइन सेवा दिने भएको हो तर नवलपरासी, रुपन्देहीलगायतका केही जिल्लामा भने हप्ताको एक दिन मात्र अनलाइन फाराम खुलाइन्छ ।

एकै पटक सबैतिर अनलाइन फाराम खुल्दा सर्भर डाउन भएपछि दूरदराजका कम समय सेवा दिने जिल्लाका सेवाग्राही मर्कामा पर्ने गरेका थिए। स्रोतसाधन र दक्ष जनशक्तिको अभावमा सबै जिल्लाले सेवा प्रभावकारी बनाउन सकिरहेका छैनन्। त्यसमाथि सर्भरको समस्याले जिल्लाका सेवाग्राही काठमाडौँ आएर विभागको अनलाइन सेवाको भर पर्न बाध्य छन्। अनलाइन सुविधाको विश्वव्यापी मर्मअनुसार विभागले सबैतिर एकैपटक सेवाको समय दिए पनि विभागमै भर्नेहरूको लर्को बढी हुने गरेको छ ।

अब विभागले अपराह्न मात्र अनलाइन फाराम भर्ने समय दिएकाले विभागभन्दा जिल्लालाई नै प्राथमिकतामा पर्ने अपेक्षा गरिएको विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवले बताए। एकातिर विभागमा बढ्दो भीड, अर्कोतिर जिल्लाको सेवामै प्रभाव परेपछि बाध्य भएर अनलाइन फाराम भर्ने समय नै परिवर्तन गर्नु परेको हो।

दशैँ, तिहार, छठ, आमनिर्वाचनलगायतका विभिन्न अवसरमा भएको सार्वजनिक बिदापछि विभागमा राहदानी बनाउनेको चाप उच्च भएको हो। विभागका अनुसार उच्च चापका कारण अनलाइन फाराम भर्ने विभागको वेबसाइटमै समस्या बढ्न थालेपछि समय परिवर्तन गर्नुपरेको हो।

बिहान ११ बजे आसपासमै जिल्ला र इलाका प्रशासन कार्यालयहरूले पनि अनलाइन फाराम खुला गर्ने गरेकाले वेबसाइट नखुल्ने, खुल्न ढिला हुने जस्ता समस्या आएको विभागले जनाएको छ। जसका कारण वेबसाइटले हाइ ट्राफिक भोल्युम भन्ने सूचना बारम्बार दिन थालेपछि विभागले फाराम खुलाउने समय परिवर्तन गरेको हो। विभागका महानिर्देशक यादवले चाहिँ विभागको भार कम गर्नुसँगै जिल्ला र स्थानीय प्रशासनको कामलाई सहज तुल्याउन यसरी समय परिवर्तन गरिएको जानकारी दिए।

उनले भने, “देशका सबै स्थानमा एकैपल्ट अनलाइन फाराम खोल्दा वेबसाइटमा भार पर्न थालेपछि न त विभागको काम हुने भयो, न त जिल्लामा नै काम हुने भयो, त्यसैले आलोपालो गरेर खुलाउँदा सबैतिर सहज हुन्छ।”

पहिलो दिन अपराह्न फाराम खुलाउँदा विभागले सहज भएको महसुस गरे पनि सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासो गरेका छन्। समय पछाडि सारेपछि विभाग परिसरमा भइरहेको ठूलो भीड कम हुँदै जानेमा आफू आशावादी रहेको महानिर्देशक यादवले बताए।

तर दैनिक एक हजार छ सय जनाले मात्र अनलाइन फाराम भरेर अन्तर्वार्ताको मिति लिन पाउने कोटा नियमका कारण विभागमा भीड कम हुने सम्भावना न्यून हुन्छ।

एकैपटक त्यति सेवाग्राहीले प्रवेश गरेपछि सर्भर अन्यका लागि बन्द हुने गर्छ। दैनिकजसो विभागबाट राहदानी लिनेको सङ्ख्या त्योभन्दा दोब्बर हुने गरेको छ। तथापि दशैँदेखि रोकिएको राहदानी बनाउनेको भीड काठमाडौँमा जम्मा भइसकेकाले मत्थर हुन समय लाग्ने विभागको अनुमान छ। गोरखापत्रबाट

प्रकाशित: ६ पुष २०७९, बुधबार

तपाइको प्रतिक्रिया