
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी सेवा शुरु हुनु अघि नै गुणस्तर मापन गर्ने उपकरण किन्ने प्रक्रिया अघि बढाएको छ। प्राधिकरणले आपूर्ति, स्थापना र ड्राइभ टेस्टमा आधारित मोबाइल नेटवर्क बेन्चमार्किङ प्रणालीका लागि मंसिर २५ गते अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र आह्वान गरेको छ।
प्राधिकरणले मोबाइल सेवाको गुणस्तर, भ्वाइस, डाटा तथा एएसमएसको गुणस्तर मापन गर्न र नेपालमा आउन लागेको फाइभजी नेटवर्क परीक्षणका लागि पनि सपोर्ट गर्ने उपकरण आपूर्ति तथा स्थापना गर्न लागेको हो।
प्राधिकरणले यस अघि पनि विभिन्न समयमा मोबाइल सेवा प्रदायकहरुको सेवाको गुणस्तर मापन गर्दै आइरहेको थियो। तर पछिल्लो समय फाइभजी सेवा परीक्षणको क्रममा रहनुका साथै नयाँ फ्रिक्वेन्सीहरु पनि वितरण भएकाले यसको मापन गर्नका लागि नयाँ उपकरण खरिद गर्न लागेको प्राधिकरणका एक अधिकारीले बताए।
‘उपभोक्तालाई गुणस्तरिय सेवा प्रदान गर्न प्राधिकरण केन्द्रित छ। प्राधिकरणसँग उपलब्ध पुरानो उपकरणले नयाँ प्रविधि र नयाँ फ्रिक्वेन्सीको गुणस्तर मापन गर्न सम्भव देखिएको छैन,’ आफ्नो नाम उल्लेख नगर्ने सर्तमा ती अधिकारीले भने, ‘यसका लागि नवीनतम र फाइभजी सपोर्ट गर्ने उपकरण आवश्यक पर्छ।’
मोबाइल सेवा प्रदायकको गुणस्तर मापन गर्न आवश्यक नवीनतम उपकरण खरिद गर्नुपर्ने भएकाले प्राधिकरणले प्रक्रिया अघि बढाएको ती अधिकारीले बताए।
मोबाइल नेटवर्क बेन्चमार्किङ प्रणालीका लागि आवश्यक उपकरणसँगै प्राधिकरणले एउटा भ्यान पनि खरिद गर्नेछ। भ्यानबाट प्राधिकरणले विभिन्न स्थानमा पुगेर मोबाइल सेवा प्रदायकको गुणस्तर मापदन गर्नेछ। साथै गाडी नजाने स्थानका लागि आवश्यक ‘ब्याक प्याक’ पनि खरिद गरिनेछ।
यस पटकको टेन्डरमार्फत प्राधिकरणले नेपालमा सञ्चालनमा रहेका सबै मोबाइल सेवा प्रदायक (तीन ओटा) को एकै पटक बेन्चमार्किङ गर्न सक्ने उपकरण खरिद गर्नेछ। हाल प्राधिकरणले प्रयोग गर्दै आएको उपकरणले एकै पटकमा सञ्चालमा रहेका सबै मोबाइल सेवा प्रदायकको बेन्चमार्किङ गर्न नसक्ने ती अधिकारीको भनाइ छ।
टेन्डर मार्फत बेन्चमार्किङका लागि आवश्यक उपकरण खरिद गरेपछि प्राधिकरण आफैँले गुणस्तर परीक्षण गर्न सक्नेछ। यदि प्राधिकरणको जनशक्ति अपुग भएको अवस्थामा बाहिरी जनशक्तिको पनि सहयोग लिन सक्नेछ।
यस विषयमा प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलसँग कुराकानी गर्दा आफू प्राविधि मान्छे नभएकाले खरिद विभागसँग सम्पर्क गरेर जानकारी दिने बताए।
प्राधिकरणले चालू आवको वार्षिक बजेटमा नै गुणस्तर परीक्षण र ड्राइभ टेस्टका लागि उपकरणहरु खरिद गर्न बजेट विनियोजन गरेको छ।
प्रकाशित: ४ पुष २०७९, सोमबार