
काठमाडौं ।
बूढानीलकण्ठ नगरपालिका–२ स्थित भङ्गालमा हिकभिजनको अत्याधुनिक भवन शुभारम्भ गरिएको छ। नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नं ४ का नवनिर्वाचित सांसद गगनकुमार थापाले नवनिर्मित अत्याधुनिक भवनको उद्घाटन गरे।
कार्यक्रममा बुढानिलकण्ठ नगर प्रमुख मीठाराम अधिकारी, उपप्रमुख अनिता लामा, बुढानिलकण्ठ – २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठ एवं वडासदस्य समेतको उपस्थिति रहेको थियो । सो अवसरमा उनीहरुले भवनमा रहेका हिकभिजनका उत्पादन प्रदर्शनीको अवलोकन एवं जानकारी समेत लिएका थिए। उनीहरुलाई म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालिका सञ्चालक मनिकुमार तामाङ, प्रबन्ध निर्देशक प्रमोदकुमार अधिकारी, सञ्चालकद्वय शिवप्रसाद ढुङ्गाना, कमल तामाङले हिकभिजनका उत्पादनका बारेमा जानकारी गराएका थिए।
सो अवसरमा म्याक्सिमा मल्टिनेशनल ट्रेडिङका अध्यक्ष तामाङले आम नागरिकको सुरक्षासंग सम्बन्धित उपकरण स्वदेशमा उच्च क्षमतामा जडान हुन सुरुआत भैसकेको र भविष्यमा नयाँ नयाँ आधुनिक उपकरण स्वदेशमा भित्र्याउँदै सुरक्षित राष्ट्र निर्माणमा योगदान दिने बताए। उनले भने “कम्पनीले विगत एक दशकदेखि सुरक्षा उपकरणसंग सम्बन्धित उपकरण उपकरण स्वदेशमा भित्र्याउँदै आएको छ। दशरथ रंगशाला,धरहरा, गोदावरी सिटी हल, नेपाल राष्ट्र बैंक, भैसेपाटीस्थित सांसद आवास लगायतमा कम्पनीले सिसिटिभी लगायतका अन्य उपकरण उपलब्ध गराउँदै आएको छ।”
म्याक्सिमा मल्टिनेशनल ट्रेडिङका प्रबन्ध निर्देशक अधिकारीले विगत दशकदेखि नेपालभरी आफ्नो बिक्रेता मार्फत हिक भिजनका उत्पादन बिक्री बितरण गर्दै आइरहेको बताए। उनले भने “कम्पनी हिकभिजनका लागि नेपालको आधिकारीक विक्रेता हो। गत वर्ष मात्रै हिकभिजन चीनको तथ्यांकमा नेपालका लागि सर्वाधिक विक्रेताका रुपमा रहेको जानकारी दिएको छ।”
हिकभिजनले सिसिटिभी, एक्सेस कन्ट्रोल, मनिटर, हाजिरी मेसिन, भिडियो डोरफोन, ठूला लिड बोर्डस, पार्किङ सोलुसन, चेक प्वाइन्ट, ट्राफिक राडार क्यामेरा, स्मार्ट सिटी, स्मार्ट होम फायर एलराम, रुम व्यारियर जस्ता उपकरण उत्पादन गर्दै बिक्रीवितरण गर्दै आएको छ।
प्रकाशित: ३ पुष २०७९, आईतवार