
काठमाडौं ।
मंसिर २९ गतेदेखि विराटनगरमा आयोजना भईरहेको विराट एक्स्पोमा छुट्टै स्टार्टअप पेभिलियन राखिएको छ।
विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा सञ्चालित एक्स्पोमा युवाहरूका लागि व्यावसायिक वातावरण तयार गर्न, व्यावसायिक विकासका सेवा प्रदायकको इकोसिस्टमको प्रदर्शन गरी यस्तो इकोसिस्टम दीगो रुपमा सुदृढ गर्ने उद्देश्यकासाथ एक्स्पोमा छुट्टै पेभिलियन राखिएको आयोजकले जानकारी दिएकोछ।
एक्स्पोमा नयाँ सोच भएका युवा युवतीहरूलाई आफ्नो सोच परीक्षण गर्ने, अवसर प्राप्त हुने आयोजक उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए ।उनले स्टार्टअप प्रोजेक्ट उद्योग संगठन मोरङले प्रदेश १ मा पहिलो पटक सञ्चालनमा ल्याएका कारण एक्स्पोमा पनि स्टार्टअपको छुट्टै पेभिलियन राखिएको जानकारी दिए।
उद्यमी बन्न चाहने युवाहरूले पेभिलियनमा आफ्नो आइडिया राख्न पाउने छन्। प्याकुरेलका अनुसार स्टार्टअपमा व्यवसाय दर्तादेखि, लेखा राख्ने र व्यवस्थित व्यवसाय कसरी गर्ने भन्नेबारे विज्ञहरूबाट जानकारी दिने व्यवस्था गरिएको छ।
पेभेलियनमा उद्योग संगठनको स्टार्टअप कार्यक्रमअन्तर्गत दोस्रो व्याचका लागि छनोट गरिएका १७ ओटा स्टार्टअप नवप्रवर्तक उद्यमीहरू, विजनेश कोचहरू, विराटनगर महानगरपालिका, प्रदेश उद्योग तथा श्रम रोजगार मन्त्रालयलगायतको सहभागिता भएका छन्। व्यवसायिक आइडिया तथा सोच भएका तर, के गर्ने कसो गर्ने भन्ने ज्ञान नभएका जो कोहीका लागि स्टार्टअप पेभेलियन उपयोगी हुने अध्यक्ष प्याकुरेलले जानकारी दिए ।
प्रकाशित: २ पुष २०७९, शनिबार