
काठमाडौं ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले केही दिनअघि गण्डकी प्रदेशमा (मङ्सिर १६ गते) पर्वतीय हरित अर्थतन्त्र विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गरेको छ। चितवनको रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयको परिसरमा (साउन १६ गते) सहरी विकास र वातावरण विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गरिएको थियो ।
नास्टका उपकुलपति डा. सुनीलबाबु श्रेष्ठले मुलुक सङ्घीय संरचनामा गएसँगै नास्टले पनि आफ्ना गतिविधि स्थानीय तहसम्म पुर्याउन प्रत्येक प्रदेशमा एक/एकवटा विशिष्टीकृत अनुसन्धान केन्द्र खोल्न लागेको बताए। डा. श्रेष्ठले भने, “यस्ता केन्द्रले एउटा विषयवस्तुमा केन्द्रित भएर स्थानीय आवश्यकता र सम्भावनालाई सम्बोधन गर्ने उद्देश्यअनुरूप विशिष्टीकृत अनुसन्धान केन्द्र खोल्न लागेका हौँ । यी केन्द्रले देश विकास र समृद्धिमा सहयोग पुर्याउने हाम्रो विश्वास छ।”
उनका अनुसार प्रदेश १ मा खाद्य र कृषि, मधेश प्रदेशमा चुरे संरक्षण र विकास, बागमती प्रदेशमा सहरी विकास र वातावरण, गण्डकी प्रदेशमा पर्वतीय हरित अर्थतन्त्र, लुम्बिनी प्रदेशमा परम्परागत प्रविधि, कर्णाली प्रदेशमा सूचना र सञ्चार, सुदूरपश्चिम प्रदेशमा जडीबुटीसम्बन्धी अध्ययन अनुसन्धानका लागि विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना कार्य अघि बढाइएको छ ।
उनले भने, “जुन क्षेत्रमा जे सम्भावना छ, त्यसैलाई प्राथमिकतामा राखेर विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने विषयविज्ञ र स्थानीय सरकारका प्रतिनिधिका साथै सम्बन्धित सरोकारवालासँगको छलफल र परामर्शमा काम अघि बढाएका हौँ ।’’
उनले छिमेकी मुलुक भारत र चीनमा यस्ता विशिष्टीकृत अनुसन्धान केन्द्र एवं उत्कृष्ट अनुसन्धान केन्द्र धेरै रहेको बताए। उनका अनुसार भारतको पुनेस्थित वैज्ञानिक र औद्योगिक अनुसन्धान परिषद्को नेसनल केमिकल ल्याबोरेटोरी, केमिकल र सोसँग सम्बन्धित उद्योगका लागि प्रविधि विकास गर्ने उद्देश्यसाथ स्थापना भएको छ ।
उनले भने, “हामीकहाँ पनि यस्ता अनुसन्धान केन्द्र आवश्यक छन् । प्रत्येक प्रदेशमा स्थापना हुने यस्ता अनुसन्धान केन्द्रबाट दक्ष वैज्ञानिक जनशक्ति विकास हुने र नेपाली युवा वैज्ञानिकका लागि यसले अध्ययन अनुसन्धानमा अवसर प्रदान गर्नेछन् ।”
उनका अनुसार प्रदेशमा स्थापना हुने विशिष्टीकृत अनुसन्धान केन्द्रहरूलाई राष्ट्रको समग्र विकास र समृद्धिमा विशेष योगदान पुग्नेछ। एक प्रदेशमा खोलिएको विशिष्टीकृत अनुसन्धान केन्द्रको सेवा अन्य प्रदेशमा आवश्यक भएमा सम्बन्धित विशिष्टीकृत अनुसन्धान केन्द्रबाट दिने हुँदा कार्यमा ‘डुप्लिकेसन’ नभई कार्यसम्पादनको लागत पनि कम हुन जाने धारणा उनको छ ।
सातै प्रदेशमा खोलिने यस्ता अनुसन्धान केन्द्रका लागि आवश्यक भौतिक संरचना निर्माणको काम भइरहेको छ । सो कार्यका लागि स्थानीय शैक्षिक संस्था, स्थानीय सरकार र अध्ययन अनुसन्धान वैज्ञानिक संस्थासँगको सहकार्यमा बजेट व्यवस्था भइरहेको जनाइएको छ ।
मानव संसाधनको सन्दर्भमा नास्टमा रहेको दरबन्दीबाट सातरसात जना जनशक्ति प्रत्येक प्रदेशमा पठाउने तयारीसमेत छ । उनले भने, “यी जनशक्तिमा वैज्ञानिक र प्रशासनिक जनशक्ति रहन्छन् ।”
अनुसन्धान केन्द्रलाई अनुगमन र दिशानिर्देश गर्न प्रदेश तहमै व्यवस्थापन कमिटी बनाइनेछ । सो कमिटीमा त्यस प्रदेशमा रहेका विज्ञहरूको प्रतिनिधित्व रहने जनाइएको छ ।
के हो विशिष्टीकृत अनुसन्धान केन्द्र ?
विशिष्टीकृत अनुसन्धान केन्द्रले कुनै निश्चित विषयवस्तुमा विशेष प्रकारको अध्ययन अनुसन्धान र विकास कार्यमा केन्द्रित भई अनुसन्धान गर्छ । यसमा केन्द्रले निश्चित विषयमा केन्द्रित भई अध्ययन तथा अनुसन्धानमार्फत समाजको आवश्यकतालाई परिपूर्ति गर्ने, समस्यालाई समाधान गर्ने वा सेवा एवं वस्तुको विकास गरी समाजलाई समृद्धितर्फ उन्मुख गर्न अनुसन्धान र प्रविधिको माध्यमबाट सहयोग र सहकार्य गर्दछ । यस प्रकारको अनुसन्धान केन्द्रले तोकिएको विषयमा विविधतापूर्ण अध्ययन अनुसन्धान गर्छ । डा। श्रेष्ठका अनुसार यस्ता अनुसन्धान केन्द्र विविध विषयमा अनुसन्धान गर्न अग्रसर हुँदैन । आफ्नो विषयवस्तुमा उत्कृष्ट कार्य गर्दै गएपछि तोकिएको मापदण्ड पूरा गरेमा सम्बन्धित विषयको उत्कृष्ट अनुसन्धान केन्द्र (सेन्टर अफ एक्सलेन्स)मा रूपान्तरण गर्न सकिन्छ । गोरखापत्रबाट
प्रकाशित: २ पुष २०७९, शनिबार