साइबर सुरक्षा अडिटमा सहजीकरण गरिदिन नियामकसँग इन्टरनेट सेवा प्रदायकहरुको माग

  • Technology Khabar | २८ मंसिर २०७९, बुधबार
साइबर सुरक्षा अडिटमा सहजीकरण गरिदिन नियामकसँग इन्टरनेट सेवा प्रदायकहरुको माग

काठमाडौं ।

इन्टरनेट सेवा प्रदायकहरुले नेपाल दूरसञ्चार प्राधिकरणसँग लागू गरिएको साइबर सुरक्षा नियमावलीको बारेमा असन्तुष्टि व्यक्त गरेका छन्।

उनीहरुले प्राधिकरणले यसअघि सबै इन्टरनेट सेवा प्रदायकहरुलाई तत्काल आन्तरिक तथा बाह्य अडिट रिपोर्ट बुझाउन दिएको निर्देशन बारेमा प्राधिकरणलाई समस्याहरु जानकारी गराउँदै ध्यानाकर्षण गराएका हुन्।

इन्टरनेट सेवा प्रदायकहरुको छाता संस्था नेपाल इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले इन्टरनेट सेवा प्रदायकहरुले आफ्ना समस्याहरु सहित संघमा गुनासो गरेको भन्दै त्यस बारेमा उचित सम्बोधन गर्न माग गरेको प्राधिकरण स्रोतले जानकारी दिएको छ।

जसअनुसारआइस्पानले साइबर सुरक्षा नियामावली लागू गर्ने र प्रतिवेदन बुझाउने बारेमा सहजीकरणका लागि केहि सुझाबसमेत दिएको छ।

आइस्पानले इन्टरनल अडिट (आईएस अडिट) गर्न इन्टरनेट सेवा प्रदायककै आन्तरिक स्रोतबाट गरिँदै आएको र त्यसैले गर्न सकिने भएकाले त्यसको व्यवस्थापन गर्न सकारात्मक ढङ्गमा कार्य भइरहेको जानकारी दिएको छ।

हालको व्यवस्थामा एनएसपी/आईएसपीहरुले आफ्नो खर्चमा आईएस अडिट रिपोर्ट पेश गर्नुपर्ने रहेको भन्दै त्यसलाई सहज बनाउन हाल प्राधिकरणले एनएसपी/आईएसपीहरुको थप वित्तीय अडिट (बाह्य) प्राधिकरणको आन्तरिक स्रोतबाट अडिटर नियुक्ति गरि हुने गरे जस्तै आईएस अडिट रिपोर्टमा पनि सोही अनुसार गर्नेगरी आवश्यक परिमार्जन गर्नुपर्ने माग राखेको छ।

यसले गर्दा प्राधिकरणले नियुक्त गरेको अडिटरबाट विश्वस्निय प्रतिवेदन प्राप्त भई कार्यान्वयन गर्दा ग्राहकले गुणस्तरीय सेवा पाउन मद्दत पुग्ने जिकिर समेत गरेको छ।

यसका साथै आईएस अडिट बारे थप सचेतना, क्षमता अभिवृद्धि र तत् सँग सम्बन्धित कार्यक्रमको आवश्यकता भएको भन्दै साइबर सुरक्षा नियमावलीमा आवश्यक संसोधन र समस्या भएका विषयमा छलफल गराउन आईस्पानले माग गरेको छ।

यसअघि प्राधिकरणले सार्वजनिक सूचना जारी गरेर सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई साइबर सुरक्षामा चनाखो हुनेगरी आन्तरिक तथा बाह्य सेक्यूिरटी अडिट गरेर प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो।

प्राधिकरणले यसको लागि अडिटरहरुको सूची जारी गरेको छ भने अडिट रिपोर्ट बुझाउने सेवा प्रदायकहरुको नाम समेत सार्वजनिक गरेको छ।

तर यसमा साना सेवा प्रदायकहरुले भने अडिटमा लागत खर्च अधिक भएको भन्दै प्राधिकरणसँग मौखिक गुनासो गर्दै आएका छन्। उनीहरुले आफूहरु मारमा परेको हुँदा यसमा सहजीकरण गर्न माग गर्दै आएका छन्।

प्रकाशित: २८ मंसिर २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...