
काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले पुस ७ गतेभित्रमा सम्झौता नगर्ने, सम्झौता नवीकरण नगर्ने र बाँकी बक्यौता भाडा रकम भुक्तानी नगर्ने इन्टरनेट सेवा प्रदायक संस्थाहरूको केवल अप्टिकल फाइवर काटिदिने चेतावनी दिएको छ।
प्राधिकरणले हाल टेलिफोन / इन्टरनेट / केवल टी. भी. सेवा सञ्चालन गर्ने सेवा प्रदायकहरू तथा सेवाग्राहीहरू सम्झौता नगरेको र भाडा नतिरेको दाबी गरेको छ।
विद्युत प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले आज सार्वजनिक जरुरी सूचनामार्फत टेलिफोन / इन्टरनेट / केवल टी. भी. सेवा सञ्चालन गर्ने सेवा प्रदायकहरू तथा सेवाग्राहीहरूलाई सो मितिभित्र सम्झौता गर्न र बाँकी बक्यौता रकम तिर्न भनेको छ।
यदि सो नभएमा पुस ७ गतेपछि जुनसुकै समयमा तारहरु हटाउने चेतावनी दिएको हो। यसको लागि प्राधिकरणको सम्बन्धित क्षेत्रको प्रादेशिक कार्यालयमा सम्पर्क गरेर सम्झौता गर्न/ सम्झौता नवीकरण गर्न र रकम तिर्न भनेको छ।
“तोकिएको मिति २०७९ पुस ७ गतेभित्र सम्झौता नगर्ने, सम्झौता नवीकरण नगर्ने र बाँकी बक्यौता भाडा रकम भुक्तानी नगर्ने सेवा प्रदायक संस्थाहरूको केवल अप्टिकल फाइवर हटाउने लगायत निजहरूलाई ने. वि. प्रा. को प्रचलित विनियमानुसार कारबाही गरिने व्यहोरा जानकारी गराउँदछौं। यसबाट केवल टी. भी., इन्टरनेट तथा टेलिफोन सेवाग्राहीलाई पर्न जाने असुविधा प्रति नेपाल विद्युत प्राधिकरण क्षमाप्रार्थी छ,” सूचनामा भनिएको छ।
प्रकाशित: २८ मंसिर २०७९, बुधबार