
काठमाडौं ।
सामाजिक सञ्जाल प्लेटफर्म ट्विटरले वेब प्रयोगकर्ताहरूका लागि आफ्नो ट्विटर ब्लू सब्सक्रिप्शन सेवा पुनःस्थापित गरेको छ र चाँडै यो सेवा आईओएस संस्करणको लागि पनि रोल आउट हुनेछ।
यसका साथै हाल, ट्विटरले केही व्यावसायिक आधिकारिक खाताहरूमा सुनौलो अर्थात गोल्ड चेक मार्क दिएको छ, जसले पहिलेदेखि नै चलिरहेको नीलो टिक चेक मार्कको परम्परा तोड्न थालेको संकेत गरिरहेको छ।
इलन मस्कको घोषणा
इलन मस्कले ट्वीट गर्दै आउँदो केही महिनाहरूमा उनले ट्विटर ब्लूको पहिलेदेखि नै विद्यमान नीतिहरू पूर्ण रूपमा परिवर्तन गर्ने बताएका छन्। उनकाअनुसार पहिले जसरी यी चेक मार्कहरू दिइएको थियो। तिनीहरू सही थिएनन्। अहिले यसको वेब संस्करण अमेरिका, क्यानडा, अष्ट्रेलिया, न्यूजील्याण्ड र बेलायतका लागि मात्र सुरु भएको छ। आगामी दिनहरूमा ट्विटरले यसलाई बिस्तार गर्ने योजनामा तीव्र गतिमा काम गरिरहेको छ।
गोल्ड चेक मार्क
केही मिडिया र कम्पनीहरुका एकाउन्टहरूमा सुनौलो चेक मार्क देखिन थालेको छ। गत महिना लन्च गर्दा भएका गल्तीबाट पाठ सिकेर यसपटक ट्विटर ब्लूको रि-लन्चिङ पुनः सुरु गरिएको हो ।
गत वर्ष सुरु गरिएको ब्लू टिक सदस्यता सेवामार्फत, जो कोहीले पैसा तिरेर ब्लू चेक मार्क प्राप्त गर्न सक्नेछन्। फलस्वरूप, धेरै प्रतिष्ठित ब्रान्डहरूको नक्कली खाताहरू सिर्जना गरियो र गलत जानकारी प्लेटफर्ममा फैलियो। जसका कारण ट्विटरले केही समयका लागि आफ्नो सेवा बन्द गर्नुपरेको थियो।
प्रकाशित: २७ मंसिर २०७९, मंगलवार