ठमेल भित्र अव्यवस्थित इन्टरनेटको तार फेरी काट्न सुरु

  • Technology Khabar | २७ मंसिर २०७९, मंगलवार
ठमेल भित्र अव्यवस्थित इन्टरनेटको तार फेरी काट्न सुरु
ठमेलमा इन्टरनेटको तार काटिँदै । फाइल तस्विर

काठमाडौं ।

राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्रको अवस्थित इन्टरनेटका तार काट्न सुरु गरिएको छ। ठमेल पर्यटन विकास परिषद्ले ठमेललाई सफा र व्यवस्थित बनाउन जथाभाबी छरिएर रहेका इन्टरनेटका तार काट्न सुरु गरेको हो ।

परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेलभित्र यत्रतत्र छरिएर रहेका तारका कारण ठमेलभित्रको सौन्दर्यमा असर परेकाले तार काट्न सुरु गरिएको जानकारी दिए । “चार दिनदेखि विभिन्न इन्टरनेट प्रदायक कम्पनीसँगको सहकार्यमा ठमेलभित्रको विद्युतका खम्बामा लत्रिएका र आवश्यकताभन्दा बढी रहेका तार काट्न सुरु गरेका हौँ”, उनले भने।

ठमेल पर्यटन विकास परिषद्को बैठक बसेर तार काट्ने तथा व्यवस्थापन गर्ने काम सुरु गरिएको उनको भनाइ छ। परिषद्ले सातघुम्ती हुँदै सोह्रखुट्टे, क्वाःबहाल हुँदै ज्याठा, नरसिंह चोक हुँदै भगवती मार्गलगायतका क्षेत्रमा तार व्यवस्थापन कार्य सुरु गरेको परिषद्का अध्यक्ष भविश्वर शर्माले जानकारी दिए।

यसअघि केहि वर्ष अगाडि पनि ठमेलमा इन्टरनेटको तार काटिँदा करिब एक सातासम्म सेवा अवरुद्ध भएको थियो । तर पछि परिषदको सहकार्यमा इन्टरनेट सेवा प्रदायकहरुले तार जोडेका थिए।

२०७६ साल पुसमा तार काटिँदा सो क्षेत्रमा मोबाइल सेवा समेत अवरुद्ध भएको थियो।

यस पटक भने ठमेलभित्र अव्यवस्थित तरिकाबाट राखिएका विभिन्न सेवा प्रदायक कम्पनीका अनावश्यक तार हटाई व्यवस्थित गर्ने सम्बन्धमा सात सदस्यीय समितिसमेत गठन गरिएको थियो।

समितिमा परिषद्को तर्फबाट उपाध्यक्ष सहदेव धमला, केवल टिभीका तर्फबाट सुधीर पराजुली, आइस्पानका तर्फबाट सुवास खड्का, नेपाल टेलिकमको तर्फबाट सरिता महर्जन र सुनिल कर्ण, नेपाल विद्युत् प्राधिकरणको तर्फबाट दीपेन्द्र बुढाथोकी र एनसेलको तर्फबाट विनायक बुढाथोकी रहेका छन्।

प्रकाशित: २७ मंसिर २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...