Technology Khabar २४ मंसिर २०७९, शनिबार
काठमाडौं ।
सुदूरपश्चिम प्रदेश सभाका १५ जना निवर्तमान प्रदेश सभा सदस्यले सुविधाको ल्यापटप अझै फिर्ता गरेका छैनन्। सुविधाका लागि दिइएको ल्यापटप १५ जना निवर्तमान सदस्यसहित एक जना स्वकीय सचिवले फिर्ता गर्न बाँकी रहेको जनाइएको छ।
प्रदेश सभा सचिवालयले दिएको जानकारीअनुसार प्रदेश सभा सदस्यलाई कामकाज गर्न सहज होस् भनेर प्रदेश सभा सचिवालयले ४३ जनालाई ल्यापटप दिएको थियो। जसमध्ये हालसम्म २७ जनाले ल्यापटप फिर्ता गरिसकेका छन्। प्रदेश सभा सदस्यको पदावधि गत असोजमै सकिएको थियो। पदावधि सकिएको दुई महिना भए पनि १६ जनाले अझै ल्यापटप फिर्ता गरेका छैनन्।
ल्यापटप फिर्ता नगर्ने प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका अम्बिकुमारी थापा, उमा बादी, टेकबहादुर रैका, देवराज पाठक र श्यामलाल राना थारु हुनुहुन्छ। यसैगरी नेकपा (एमाले)का अर्चना गहतराज, कुलवीर चौधरी, नेकपा (माओवादी केन्द्र)का दुर्गाकुमारी कामी, प्रेमप्रकाश भट्ट, मानबहादुर सुनार र शान्ति नेपाली छन्।
नेकपा (एकीकृत समाजवादी)का पूर्णा जोशी, बलबहादुर सोडारी, मनाकुमारी साउद, माया तामाङले पनि ल्यापटप बुझाउनु भएको छैन। यसैगरी निवर्तमान उपसभामुख निर्मला बडाल जोशीका स्वकीय सचिव हरिचन्द्र भट्टले पनि ल्यापटप बुझाउन बाँकी रहेको जनाइएको छ।
पदावधि सकिएपछि ल्यापटप फिर्ता गर्नका लागि सचिवालयले ताकेता गर्दै आएको छ तर सूचना पठाउँदा पनि अहिलेसम्म ल्यापटप फिर्ता नगरिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए। उनले भने, “सुविधामा दिइएको सामान फिर्ता गर्नका लागि हामीले एसएमएसमार्फत जानकारी गराएका छौँ। धेरैले ल्यापटप बुझाइसक्नुभएको छ। केहीले अझै बुझाउन बाँकी रहेको छ।”
निवर्तमान उपसभामुख जोशीले पनि सरकारी क्वाटरबाट लगेको केही सामान फिर्ता गर्न बाँकी रहेको छ। उनले टिभीलगायतका सामान फिर्ता नगरेको सचिवालयले जनाएको छ। सूचना अधिकारी जैशीले भने, “बिदाइको दिन केही सामना फिर्ता गर्नुभयो। अझै पनि टिभीलगायतका कतिपय सामान फिर्ता गर्न बाँकी रहेको छ।”
तत्कालीन सार्वजनिक लेखा समितिका सभापति कुमारीनन्दा बमले घरमा लगेको एक थान प्रिन्टर फिर्ता हुन बाँकी रहेको छ। सूचना अधिकारी जैशीले भने, “समितिको कतिपय गोप्य डकुमेन्ट घरमै प्रिन्ट गर्ने भनेर उहाँले एक थान प्रिन्टर घरमा लग्नुभएको थियो, त्यो प्रिन्टर फिर्ता हुन बाँकी छ।” गोरखापत्रबाट
प्रकाशित: २४ मंसिर २०७९, शनिबार