काठमाडौं ।
पछिल्ला केही महिनायताको मन्दीले स्मार्टफोन बजारमा असर गरिरहेको छ। जसका कारण चालु वर्षको तेस्रो त्रैमासिकमा स्मार्टफोनको विश्वव्यापी उत्पादनमा कमी आएको छ।
स्मार्टफोन उद्योगले जुलाईदेखि सेप्टेम्बरसम्म करिब २८ करोड ९० लाख युनिट उत्पादन गरेको छ। यो दोस्रो त्रैमासिकको तुलनामा ०.९ प्रतिशत र वार्षिक आधारमा झण्डै ११ प्रतिशतले घटेको हो।
दक्षिण कोरियाको सामसङले स्मार्टफोन उत्पादनमा आफ्नो पहिलो स्थान कायमै राखेको छ। अमेरिकी स्मार्टफोन कम्पनी एप्पल दोस्रो र चीनको शाओमी तेस्रो स्थानमा छ। बजार अनुसन्धान फर्म ट्रेन्डफोर्सको प्रतिवेदनमा तेस्रो त्रैमासिकमा स्मार्टफोन बजारमा माग कमजोर रहेको बताइएको छ।
सामसङले करिब ६४.२ मिलियन युनिट उत्पादन गरेको थिय। यो त्रैमासिक आधारमा ३.९ प्रतिशतले घटेको हो। सामसङले यो वर्ष फोल्डेबल स्मार्टफोन बजारमा पनि पहिलो स्थान हासिल गरेको छ। विश्व स्मार्टफोन बजारमा फोल्डेबल फोनको हिस्सा अर्को वर्ष करिब १.५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।
एप्पलले तेस्रो त्रैमासिकमा करिब ५०.८ मिलियन युनिट उत्पादन गरेको छ। विश्वव्यापी स्मार्टफोन उत्पादनमा शाओमीको हिस्सा १३ प्रतिशतभन्दा अलि बढी थियो। कम्पनीसँग रेडमी, पोको र ब्ल्याक शार्क जस्ता अन्य ब्रान्डहरू पनि छन्। यो सूचीमा ओप्पो चौथो स्थानमा छ । एप्पलले आईफोनको उत्पादनलाई चीनबाट बाहिर लैजाने योजनामा अगाडि बढ्न थालेको छ।
कम्पनीले आपूर्तिकर्ताहरूलाई विशेष गरी भारत र भियतनाममा ह्यान्डसेटहरू एसेम्बल गर्ने योजना बनाउन आग्रह गरेको छ। यसबाहेक, एप्पलले फक्सकन जस्ता ताइवानी सम्झौता निर्माण कम्पनीहरूमा आफ्नो निर्भरता कम गर्न चाहन्छ।
चीनको फक्सकनको झेङ्गझौउ कारखानामा भएको हिंसात्मक प्रदर्शनपछि आईफोनको उत्पादन प्रभावित भएको छ। जसका कारण एप्पलले आफ्नो उत्पादनको केही हिस्सा चीनबाट बाहिर निकाल्ने तयारी गरिरहेको छ। यस कारखानामा आइफोन र एप्पलका केही अन्य उत्पादनहरू बनाइन्छ। यो कारखानाले एक पटक आईफोनको प्रो भेरियन्टहरूको उत्पादनको लगभग ८५ प्रतिशत योगदान गर्यो।
एप्पलले आफ्ना आपूर्तिकर्ताहरूलाई चीनबाट उत्पादन सार्न चाहेको बताएको छ। एप्पलले गत महिनाको सुरुमा फक्सकनको कारखानामा समस्या सुरु भएपछि आईफोनको महँगो भेरियन्टको ढुवानीमा कटौतीको पूर्वानुमान गरेको थियो।
प्रकाशित: २३ मंसिर २०७९, शुक्रबार