
काठमाडौं ।
एप्पलले आफ्नै ईलेक्ट्रिक भेहिकल एप्पल कार निर्माणमा लागेको केहि वर्ष भईसकेको छ। टाइटन नाम रहेको उक्त भेहिकल प्रोजेक्ट भने विगत केहि महिना देखि अलमलको स्थितिमा रहेको बताईएको छ।
पछिल्लो एक रिपोर्ट अनुसार २०२६ सम्ममा उक्त एप्पल कार लन्च हुने अपेक्षा रहेको छ। उक्त एप्पल कारको मूल्य १ लाख अमेरिकी डलर भन्दा कम रहने बताईएको छ।
कम्पनीको योजना भने उक्त ईभीलाई २०२५ मा आधिकारीकरुपमा सार्वजनिक गर्ने रहेको थियो। तर कुपरटिनो बेस्ड कम्पनीले सेल्फ ड्राईभिङ फिचरलाई ध्यानमा राख्दै सो महत्वकांक्षी योजनाको सार्वजनिक गर्ने मिति वर्ष दिनपछि सारेको ब्लूमबर्गले रिपोर्ट गरेको छ।
शुरुमा एप्पल कार भित्र यात्रुहरु लेमोजिनमा जस्तो एक आपस आम्ने–साम्ने बस्ने तथा बिना स्टेरिङ र पेडल्सको डिजाईनमा रहने बताएको थियो। तर कम्पनीले अब आएर ईभीको डिजाईन ड्राईभर सिट, स्टेरिङ र पेडल्सको साथमा परम्परागत शैलिमा गर्ने उल्लेख छ।
फुल्ली अटोनोमस ड्राईभिङ वा सेल्फ ड्राईभिङ फिचर गाडीमा समावेस नगरिने बताईएको छ। राजमार्गको लागि भने सेल्फ ड्राईभिङ मोड गाडीमा समावेस गरिने उल्लेख गरिएको छ। साथै उक्त मोडले गर्दा प्रयोगकर्तालाई बाटोमा गाडी भित्र गेम खेल्न र भिडियो हेर्न सहज हुने बताईएको छ। यद्यपि शहरी क्षेत्र र प्रतिकुल मौसममा गाडीले चालकलाई ड्राईभिङ गर्न कमाण्ड दिनेछ। शुरुमा ह्याण्ड फ्री टेक उत्तर अमेरिकामा डेब्यू गराईने र बिस्तारै अन्य ठाऊँमा पनि उपलब्ध गराईने बताईएको छ।
एप्पलले शुरुमा उक्त ईभीको मूल्य १ लाख २० हजार अमेरिकी डलर तोकेको थियो। तर गाडीको फिचर र टेक्नोलोजीहरुमा फेरबदल गरेको हुनाले अब उक्त ईभीको मूल्य १ लाख अमेरिकी डलर भन्दा कमपर्ने समाचारमा उल्लेख छ।
कम्पनीले एप्पल कारको डिजाईन निर्धारण गरिनसकेको र २०२३ सम्ममा निर्धारण गर्ने बताएको छ। त्यसैगरी गाडीको फिचरको लिस्टहरु २०२४ सम्ममा निर्धारण हुने र लन्च हुनुभन्दा एक वर्ष अघि २०२५मा उक्त ईभीको टेस्ट गरिने गीज्मोचाइना रिपोर्ट गरेको छ।
प्रकाशित: २१ मंसिर २०७९, बुधबार