सफ्टवेयरमा समस्या आएसँगै लाइसेन्स वितरण रोकियो

Technology Khabar २१ मंसिर २०७९, बुधबार

काठमाडौं ।

यातायात व्यवस्था कार्यालयले सञ्चालन गर्ने आईडीएल सफ्टवेयरमा देखिएको समस्याका कारण सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण हुन सकेको छैन। साउन महिनाबाट लाइसेन्स वितरण गर्ने अनुमति पाएको यातायात व्यवस्था कार्यालय दिपायल र डडेल्धुराले हालसम्म लाइसेन्स वितरण गर्न सकेको छैन।

सवारीचालक अनुमतिपत्रका लागि लिखित परीक्षापछिको प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेकै दिन अस्थायी सवारीचालक अनुमतिपत्र वितरण गर्नुपर्ने भए पनि डोटी र डडेल्धुरा कार्यालयले भने वितरण गर्न सकेको छैन।

सवारीचालक अनुमतिपत्र (लाइसेन्स)का लागि सम्पूर्ण प्रक्रिया पूरा गरेर राजस्वसमेत दाखिला सकेको चार महिना बितिसक्दा पनि अनुमतिपत्र पाउन नसकेको सेवाग्राहीको गुनासो छ।

प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेको चार महिना बितिसक्दा पनि लाइसेन्स पाउने नपाउने कुनै टुङ्गो नरहेको शिखर नगरपालिका–१० का राजेश ठगुन्नाले गुनासो गरे। उनले भने, “डोटी कार्यालयबाट प्रयोगात्मक परीक्षा पास गर्ने म पहिलो व्यक्ति हुँ। पास गरेकै दिन लाइसेन्स पाइन्छ भन्नुभएको थियो तर हालसम्म कुनै टुङ्गो छैन।”

यातायात व्यवस्था कार्यालय दिपायलबाट हालसम्म ३६६ जनाले लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) पास गरेको कार्यालय प्रमुख पूर्णबहादुर शाहले बताए। सो कार्यालयबाट ३१२ जना दुईपाङ्ग्रे सवारीचालक र ५४ जना चारपाङ्ग्रे सवारीचालक परीक्षामा पास भए पनि अनुमतिपत्र वितरण गर्न नसकिएको उनले बताए।

“लिखित र ट्रायल परीक्षा पास गरेपछि एक वर्षका लागि अस्थायी सवारीचालक अनुमतिपत्र दिने व्यवस्था छ,” उनले भने, “एक वर्षपछि मात्रै स्मार्ट लाइसेन्स वितरण गरिन्छ तर हामीले सफ्टवेयरको समस्याका कारण अस्थायी लाइसेन्ससमेत वितरण गर्न सकेका छैनौँ। यसबारे विभाग र मन्त्रालयमा पटक–पटक जानकारी गराउँदासमेत समस्या समाधान हुन सकेको छैन। सेवाग्राहीले हामीमाथि प्रश्न गर्न थालेका छन्।”

अस्थायी लाइसेन्स वितरण गर्ने भनेर खरिद गरेको प्रिन्ट मेसिन र कार्डहरू प्रयोगविहीन भएको कार्यालयले जनाएको छ। सफ्टवेयरमा देखिएको सानो समस्या समाधानका लागि विभाग र सफ्टवेयर निर्माण कम्पनीले चासो नदिँदा अस्थायी लाइसेन्स वितरण सेवा अवरुद्ध भएको छ।

यातायात व्यवस्था कार्यालय डडेल्धुराबाट ५९२ जनाले लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) पास गरेको कार्यालय प्रमुख हर्षबहादुर रोक्काले बताए। उनका अनुसार हालसम्म ४५९ जनाले दुईपाङ्ग्रे र १३३ जनाले चारपाङ्ग्रे सवारीचालक अनुमतिपत्रका लागि सेवा लिएका छन्।

त्यहाँ पनि पूर्ण रूपमा अस्थायी अनुमतिपत्र वितरण गर्न सकिएको छैन। उनले भने, “सुरुमा कार्यालयको नाम लामो भएका कारण समस्या आएको थियो। बीचमा समस्या समाधानको प्रयास भयो, पुनः समस्या देखिएको छ।”

भारतीय कम्पनीले निर्माण गरेको सफ्टवेयरको समस्याका कारण अहिले वितरण प्रक्रिया रोकिएको छ। हालसम्म २४४ जनालाई मात्र लाइसेन्स वितरण गर्न सकिएको जनाइएको छ। गोरखापत्रबाट

प्रकाशित: २१ मंसिर २०७९, बुधबार

तपाइको प्रतिक्रिया