उत्तरी गोरखामा टेलिफोन सेवा ठप्प

  • Technology Khabar | २० मंसिर २०७९, मंगलवार
उत्तरी गोरखामा टेलिफोन सेवा ठप्प
सांकेतिक तस्विर

काठमाडौं ।

उत्तरी गोरखाको विभिन्न स्थानमा टेलिफोन सेवा ठप्प भएको छ। चुमनुब्री गाउँपालिकाको अधिकांश ठाउँ र धार्चेका केही वडामा बिहीबारदेखि टेलिफोन सेवा बन्द भएको स्थानीयबासीले बताएका छन्।

“विगत पाँच/छ दिनदेखि मोबाइलमा टावर आएको छैन। फोन पनि लाग्दैन, कहाँ के भएको हो ?” धार्चे गाउँपालिका-२, रुन्नेतको सुभानी गुरुङले भनिन्, “छोराछोरो सहरमा छन् सन्चो बिसन्चो सोध्न पनि पाइएको छैन।”

धार्चे, हुल्बुक, रुन्बेत र उडियालगायतका ठाउँमा टेलिफोन सेवा अवरुद्ध भएको छ। चुमनुब्री गाउँपालिकाका अधिकांश ठाउँमा पनि फोन नबलेको गाउँपालिका अध्यक्ष निमा लामाले बताए। “पाँच/छ दिन भयो फोन चलेको छैन,” उनले भने, “सबै ठाउँमा स्काई फोन पनि छैन, कन्ट्याक्ट गर्न समस्या भइरहेको छ।”

धार्चे गाउँपालिका-२, रुन्चेतना भएको विद्युत् गृहमा समस्या देखिएपछि टेलिफोन सेवा ठप्प भएको हुन सक्ने नेपाल टेलिकम गोरखाले जनाएको छ।
बिद्युत्को अभावमा केरौजामा रहेको टावर बन्द हुँदा त्यस बरपर र उत्तरी गोरखाका केही टावरसँगको सम्बन्ध टुटेको टेलिकम गोरखाका सन्दीप ढकालले जानकारी दिए।

“हाम्रो केरौँजामा रहेको टावरमा बत्ती नहुँदा टेलिफोन सेवा अबरुद्ध भएको छ,” उनले भने, “त्यो टावरबाटै माथिका अन्य टावरमा कनेक्स गरिएको छ। त्यसकारण चुमनुब्रीमा पनि टेलिफोन नचलेको हो।”

केरौँजाको टावरबाट सम्पर्क गर्नुपर्ने उहिया, न्याक, मिट्टी र छेकम्पार टावर अन्तर्गत पर्ने विभिन्न भूभागमा अहिले फोन सेवा बन्द भएको उनले जानकारी दिए।

बिद्युत् मर्मत नभएपछि टेलिफोन सञ्चालन नहुने टेलिकमले जनाएको छ। “यो विद्युतको समस्या हो, हाम्रो होइन,” ढकालले भने, “बिद्युत् सञ्चालन भएपछि टेलिफोन पनि चलिहाल्छ।”

आइतबार पोखराबाट प्राबिधिक ल्याएर उक्त लघुजलविद्युत् मर्मत गर्ने बताइए पनि सोमबारसम्म मर्मत कार्य नभएको स्थानीयवासीले बताएका छन्।

उक्त लघुजलबिद्युत् बन्द हुँदा केरौंजा र रुन्चेतका विभिन्न गाउँना बिद्युत् सेवा पनि ठप्प भएको छ। त्यहाँका स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन्। टेलिकमले टावरहरूमा बैकल्पिक ऊर्जाको प्रबन्ध नगर्दा केरौंजा विद्युत् समस्या भएपछि अन्य टाबरमा पनि सम्पर्क टुटेकोप्रति सो क्षेत्रका सरोकारवालाले आक्रोश पोखेका छन् ।

नेपाल टेलिकमले ग्राहकसँग शुल्क लिएपछि टावरहरूमा बैकल्पिक स्रोतको प्रबन्ध गर्नुपर्ने स्थानीयबासीको माग छ। अधिकांश लघुजलबिद्युत रहेका सो क्षेत्रमा एक ठाउँमा बिखिँदा अन्यत्र पनि यस्तो समस्या भोग्नु परेको भन्दै हरेक टावरमा वैकल्पिक ऊर्जा राख्नुपर्ने स्थानीयवासीको भनाइ छ। गोरखापत्रबाट

प्रकाशित: २० मंसिर २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार