नास्टले युवा वैज्ञानिकहरुलाई अनुसन्धान सहयोग दिने, नवप्रवर्तनका लागि बाह्र लाख रुपैयाँसम्म पाईने

  • Technology Khabar | २० मंसिर २०७९, मंगलवार
नास्टले युवा वैज्ञानिकहरुलाई अनुसन्धान सहयोग दिने, नवप्रवर्तनका लागि बाह्र लाख रुपैयाँसम्म पाईने

काठमाडौं ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट)ले युवा वैज्ञानिकहरूको  अनुसन्धानमा सहयोग गर्ने भएको छ ।

यसको लागि नास्टले युवा वैज्ञानिकहरूलाई अनुसन्धान सहयोग कार्यक्रम अन्तर्गत सबै युवा वैज्ञानिकहरूसँग प्रस्ताव पेश गर्न आव्हान गरेको छ।

नास्टले यसअन्तरत व्यक्तिगत/समूहगतरुपमा अनुसन्धानको लागि बढीमा पाँच लाख र संस्थागत अनुसन्धानको लागि दश लाख रुपैयाँ तथा बहु विधागत अनुसन्धानका लागि बाह्र लाख रुपैयाँसम्म दिने भएको हो।

त्यसैगरी माध्यमिक विद्यालय स्तरका विद्यार्थीहरूबाट गरिने अनुसन्धानात्मक एवं नवप्रवर्तन सम्बन्धी कार्यक्रम सञ्चालनका लागि बढीमा पचास हजार र क्याम्पस स्तर (स्नातक) का विद्यार्थीहरूबाट गरिने अनुसन्धानात्मक एवं नवप्रवर्तन सम्बन्धी कार्यक्रम सञ्चालनका लागि बढीमा एक लाख रुपैयाँ तथा वैज्ञानिक समाज, प्रविधि समाज र संस्थाहरूले गर्ने अनुसन्धान वा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्नका लागि बढीमा एक लाख प्रदान गरिने जानकारी दिएको छ।

सहयोगका लागि नास्टबाट चालु आर्थिक वर्ष २०७९/०८० देखि सञ्चालित युवा वैज्ञानिकहरूलाई अनुसन्धान सहयोग कार्यक्रम अन्तर्गत विज्ञान तथा प्रविधि सम्बन्धी नतिजामुखी अनुसन्धान, नयाँ प्रविधि विकास वा सुधारिएको प्रविधि विकास गर्न इच्छुक प्रतिभावान् युवा वैज्ञानिक एवं प्राविधिज्ञहरूलाई सहभागी हुन भनेको छ।

“४० वर्ष उमेर ननाघेका र सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र आफूले गर्न चाहेको अनुसन्धान प्रस्ताव र आवेदन यस प्रतिष्ठानको खुमलटार स्थित केन्द्रीय कार्यालयमा दर्ता गराउन हुन वा [email protected] वा [email protected] मा हस्ताक्षर सहितको प्रस्ताव पठाउन आव्हान गरिन्छ । नास्टको सात प्रदेशका विशिष्टीकृत अनुसन्धान केन्द्रको उद्देश्यसँग मेल खाने अनुसन्धान प्रस्तावहरू सोही प्रदेशमा कार्यरत युवा वैज्ञानिक प्राविधिज्ञबाट पेश भएमा त्यस्ता प्रस्तावहरूलाई प्राथमिकता प्रदान गरिने छ,” नास्टले भनेको छ।

विद्यालय स्तर र क्याम्पस स्तरका विद्यार्थीहरूबाट गरिने अनुसन्धानात्मक एवं नवप्रवर्तन सम्बन्धी कार्यक्रमको लागि अनिवार्यरूपमा समूहगत प्रस्ताव र सम्बन्धित विद्यालय र क्याम्पसको सिफारिस पेश गर्नु पर्नेछ र यसको पूर्ण जिम्मेवारी सम्बन्धित विज्ञान शिक्षक हुने स्पष्ट पारेको छ।

अनुसन्धान प्रस्ताव पेश गर्दा नागरिकताको प्रतिलिपि र अद्यावधिक बायोडाटा अनिवार्य पेश गर्नु पर्नेछ भने इमेलबाट अनुसन्धान प्रस्ताव पठाउंदा वर्ड र पिडिएफ फाइलमा पठाउन अनुरोध गरेको छ।

प्रकाशित: २० मंसिर २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...