विद्यालयलाई सूचना प्रविधि ल्याब सामग्री वितरण

  • Technology Khabar | १९ मंसिर २०७९, सोमबार
विद्यालयलाई सूचना प्रविधि ल्याब सामग्री वितरण

काठमाडौं ।

सामुदायिक विद्यालयको गुणस्तर सुधारमा लागेको इलामको सूर्योदय नगरपालिकाले नगरका ३१ वटा विद्यालयलाई आईटी ल्याब सामग्री वितरण गरेको छ। नगरको शिक्षा युवा तथा खेलकुद शाखाले नगर क्षेत्रका आधारभूत विद्यालयलाई प्रविधिमैत्री विद्यालय निर्माण गर्न कम्प्युटर, प्रिन्टर र यूपीएस गरी १९ लाख ५० हजार रुपियाँ बराबरका सामग्री वितरण गरेको हो।

नगरले ससर्त अनुदानअन्तर्गतको बजेटमार्फत आईसीटी तथा ई–लाइब्रेरी सञ्चालनका लागि नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा प्रविधियुक्त सामग्री वितरण गरिरहेको छ। नगरका ६६ ओटै सामुदायिक विद्यालयमा प्रविधि हस्तान्तरण गरिएको छ।

सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख रणबहादुर राईले नगरले दिएका सामग्रीको सही सदुपयोग गर्न विद्यालयका प्रधानाध्यापकलाई आग्रह गरे। उनले भने, “नगरपालिकाले शिक्षाका हरेक क्षेत्रमा सहयोग गर्न तयार छ, अब शिक्षकहरूले पनि त्यसमा सहयोग गर्नुपर्छ ।”

नगरप्रमुख राईले अबका शिक्षक प्रविधिमा घुलमिल नहुने र स्मार्ट नबन्ने हो भने विद्यार्थी र विद्यार्थीका अभिभावकले नपत्याउने बताए।

नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईले नगरपालिकाले सहयोग गर्दागर्दै पनि कतिपय विद्यालयले शैक्षिक गुणस्तर सुधारमा ध्यान नदिएको बताए। उनले जिल्लाका १० पालिकामध्ये सूर्योदय नगर मात्र ११ प्रतिशतले विद्यार्थी भर्ना दर बढाउन सफल भएको जानकारी दिए। उनले नगरले ६० प्रतिशत लगानी शिक्षा क्षेत्रमा गरेको जानकारी दिए।

नगरपालिकाले अबको एक महिनाभित्रमा सबै सामुदायिक विद्यालयमा इन्टरनेटको सुविधा पुर्याइसक्ने नगरप्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिए। भवानी आधारभूत विद्यालयका प्रधानाध्यापक रचना राईले नगरले दिएका सामग्रीले विद्यालयलाई प्रविधिमा जोड्न सहज भएको बताए।

नगरपालिकाले ई–हाजिरीको व्यवस्था गरिसकेको छ भने यसै साताबाट विद्यालयले पठाएका हस्तलिखित निवेदनसमेत नगरपालिकाले नबुझ्ने भएको छ।गोरखापत्रबाट

प्रकाशित: १९ मंसिर २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार