
काठमाडौं ।
रामेछाप जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणको कामलाई प्रभावकारी बनाउन वडा तहबाटै विवरणको प्रक्रिया थालनी गरिएको छ। जिल्ला प्रशासन कार्यालय रामेछापले स्थानीय तहसँग समन्वय गरेर राष्ट्रिय परिचयपत्रको काम वडा तहबाटै सुरु गरेको हो।
हाल मन्थली नगर पालिकाको १४ वटा वडाबाट राष्ट्रिय परिचयपत्र वितरणका लागि नागरिकको विवरण प्रविष्ट गर्ने काम भइरहेको रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले बताए । उनले भने, “मन्थली नगरपालिकाको १४ वटा वडामा राष्ट्रिय परिचयपत्रको काम भइरहेको छ, हरेक वडामा एउटा स्टेसनको व्यवस्था गरिएको छ ।”
चार देखि पाँच महिनाभित्र जिल्लामा रहेका दुईवटा नगरपालिका र छवटा गाउँपालिकाको ६४ वटै वडाका नागरिकको विवरण प्रविष्ट गरिसक्ने गरी तयारी गरिएको उनले बताए । “अहिले मन्थली नगर पालिकामा १५ वटाभन्दा बढी स्टे सनमार्फत राष्ट्रिय परिचयपत्रको काम भइरहेको छ । अबको केही दिनमा रामेछाप नगरपालिकाको वडामा पनि काम सुरु हुन्छ,” उनले भने ।
नागरिकको सहजताका लागि अहिले मन्थली नगरपालिकाको सबै वडाबाट राष्ट्रिय परिचयपत्रको काम भइरहेको मन्थली नगरपालिका प्रमुख लवकुमार श्रेष्ठले बताए । उनले भने, “सबै वडाको आवश्यक समन्वय र सहयोगमा अहिले प्रत्येक वडामा एउटा स्टेसनमार्फत राष्ट्रिय परिचयपत्रका लागि नागरिकको विवरण प्रविष्ट गर्ने काम भइरहेको छ ।”
नागरिकलाई सहजरूपमा राष्ट्रिय परिचयपत्र प्रदान गर्ने उद्देश्यले वडाबाटै परिचयपत्रको काम सुरु गरिएको र जति समय लागे पनि सबै नागरिकको विवरण प्रविष्ट गरिने उनले बताए। गोरखापत्रबाट
प्रकाशित: १७ मंसिर २०७९, शनिबार