शाखारहित बैंकिङ्ग कारोबार गर्दा विद्युतीय उपकरणमार्फत् मात्र गर्न राष्ट्र बैंकको आग्रह

  • Technology Khabar | १६ मंसिर २०७९, शुक्रबार
शाखारहित बैंकिङ्ग कारोबार गर्दा विद्युतीय उपकरणमार्फत् मात्र गर्न राष्ट्र बैंकको आग्रह

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले शाखारहित बैंकिङ्ग सेवामार्फत कारोबार गर्दा ग्राहकहरुलाई सजगता अपनाउन भनेको छ। केन्द्रिय बैंक भुक्तानी प्रणाली विभागले विद्युतीय उपकरणमार्फत् मात्र गर्न अनुरोध गरेको छ।

बैंकले हालै सार्वजनिक सूचना जारी गरेर अनुमतिपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले महानगरपालिका तथा उपमहानगरपालिका बाहेकका बैंक तथा वित्तीय संस्थाको उपस्थिति नभएका स्थानमा आधिकारिक प्रतिनिधि नियुक्त गरी शाखारहित बैंकिङ्ग सेवा उपलब्ध गराउन सक्ने व्यवस्था रहेको जानकारी दिएको छ।

यसका साथै बैंक तथा वित्तीय संस्थाको आधिकारिक प्रतिनिधि र सहायक प्रतिनिधिमार्फत् मात्र तोकिएको सेवा केन्द्रमा गई कारोबार गर्न भनेको छ भने सेवाग्राहीले कुनै पनि कारोबार गर्दा विद्युतीय उपकरणमार्फत् मात्र गर्नुपर्दछ।

ग्राहकहरुले कुनै पनि कारोबार गरिसकेपछि विद्युतीय उपकरणबाट प्राप्त हुने प्रिन्टेड स्लिप अनिवार्य रुपमा लिई आफूले गरेको कारोबारबमोजिम भए नभएको यकीन गर्नुपर्दछ। साथै, विद्युतीय उपकरणबाट सुनिने आवाज (ध्वनी) मार्फत् पनि आफूले गरेका कारोवारको यकीन गर्न सकिने जनाएको छ।

राष्ट्र बैंकले शाखारहित बैंकिङ्ग कारोबारमार्फत रकम जम्मा गर्दा, ऋणको किस्ता तिर्दा अथवा रकम झिक्दा आफूले कारोवार गरे बमोजिमको भए/नभएको बेला बेलामा बैंक खातामार्फत् समेत यकीन गर्नुपर्दछ। व्यक्तिगत सम्बन्धको आधारमा कसैलाई बैंकमा रकम जम्मा गर्न दिएको भए त्यस्तो रकम सम्बन्धित खातामा जम्मा भए/नभएको तुरुन्त यकीन गर्नुपर्दछ।

यस्तो विषयमा तथा सेवा सञ्चालनका सम्बन्धमा केही सुझाव तथा गुनासो भएमा बैंकको फोन वा गुनासो सुनुवाइ गर्ने पोर्टल gunaso.nrb.org.np मार्फत् जानकारी गराउन समेत आग्रह गरेको छ।

प्रकाशित: १६ मंसिर २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार