
काठमाडौं ।
अलिबाबाका संस्थापक ज्याक मा पछिल्लो ६ महिनादेखि जापानको राजधानी टोकियोमा बस्दै आएको खुलेको छ। चीनको टेक सेक्टरमा क्र्याकडाउन आए लगत्तै ज्याक मा गुमनाम थिए।
ज्याक मा आफ्नो परिवारसंग पछिल्लो ६ महिना देखि टोकियोमा बस्दै आएको फाइनान्सियल टाइम्सले विभिन्न अज्ञात स्रोतहरुलाई उधृत गर्दै लेखेको छ। साथै उनी अमेरिका र इजरायल पनि पुगेको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ। गत वर्ष स्पेनको टापु माल्लोर्कामा र चीनमा देखा परेका ज्याक मा त्यस पश्चात एका–एक हराएका थिए।
प्रतिस्पर्धी बजारको सिद्धान्त विरुद्ध संगठित रुपमा कार्य गरेको आरोपमा ठूला चिनियाँ कम्पनीहरु चिनियाँ अधिकारीहरुको निशानामा थिए। ती कम्पनीहरुले डाटामा पहुँच बढाएर आफ्नो व्यवसाय तीब्र गतिमा बढाउनेमा चीन सरकार त्रासित थियो।
गत जुलाईमा ज्याकले आफ्नो एन्ट ग्रुप चिनियाँ नियामकहरुलाई अन्तर्गत राखेर आफ्नो डिजिटल पेमेन्ट यूनिटको आईपीओ पुनः जारी गराउने योजना थियो।
चीनको आर्थिक मन्दी र कोभिड–१९ को बढ्दो केसले गर्दा ज्याकको अलिबाबा कम्पनीले उल्लेखनीय राजश्व संकलन गर्न सकेको छैन।
न्यूयोर्क स्टक एक्सचेञ्जमा सूचीकृत अलिबाबालाई अमेरिकी अधिकारीहरुले वाचलिस्टमा राखेका छन्। कम्पनीले आफ्नो सेयर मूल्य घट्नुको कारण सम्बन्धी यकिन कारण प्रस्तुत नगरेमा न्यूयोर्क स्टक एक्सचेञ्जको सूचीबाट हटाईने छ।
प्रकाशित: १५ मंसिर २०७९, बिहीबार