
काठमाडौं ।
विश्वभरका प्राविधिक कम्पनीहरुले कर्मचारीहरु हटाउने क्रम जारी राखेका छन्। मेटा, अमेजन, एचपी र ट्विटर लगायत ठूला टेक कम्पनीहरुले कर्मचारीहरु निकालिरहेका छन्।
संसारभरका कम्तीमा पनि ८५३ टेक कम्पनीले हालसम्म करिब १ लाख ३७ हजार ४९२ कर्मचारी हटाइसकेको अमर उजालले उल्लेख गरेको छ। यूरोप तथा उत्तर अमेरिकी मुलुकहरुमा आर्थिक मन्दीको आशंका गरिएको छ। सम्भावित आर्थिक मन्दीको प्रभावबाट बच्नका लागि कम्पनीहरुले कामदारहरु हटाइरहेका छन्।
दुई वर्षमा २ लाखभन्दा धेरैले गुमाए रोजगारी
क्लाउडमा आधारित डाटाबेस लेअफ एफवाईको रिपोर्ट अनुसार १ हजार ३८८ टेक कम्पनीले कोभिड १९ को शुरुवातसँगै हालसम्म २ लाख ३३ हजार ४८३ कर्मचारी निकालिसकेका छन्। उक्त रिपोर्ट अनुसार सन् २०२२ मा टेक कम्पनीमा कार्यरतहरुका लागि सबैभन्दा खराब वर्ष रहेको छ।
यस वर्षको नोभेम्बरको मध्यसम्म अमेरिकाका टेक सेक्टरमा ७३ हजार भन्दा बढी कर्मचारी मेटा, ट्विटर, सेल्सफोर्स, नेटफ्लिक्स, सिस्को र रोकूबाट बाहिरिएका छन्।
क्रन्चबेसका अनुसार रोबिनिहुड, ग्लोसियर र बेटर लगायत केही टेक कम्पनीले २०२२ मा आफ्नो कर्मचारीको संख्यामा उल्लेखनीय रुपमा कटौती गरेको छ।
कर्मचारी हटाउने कार्य जारी रहने
अमेजन र पीसी तथा प्रिन्टर प्रमुख एचपी लगायत ठूलो टेक कम्पनीले कर्मचारी हटाउने कार्य जारी राख्ने छ। आगामी दिनमा अमेजनले १० हजार र एचपीले ६ हजार भन्दा बढी कर्मचारी हटाउने तयारी गरेका छन्।
अमेजनका सीईओ एन्डी जेसीले २०२३ मा कम्पनीले अझै कर्मचारी हटाउने चेतावनी दिएका छन्।
गूगलको मूल कम्पनी अल्फाबिटाले करिब १० हजार खराब प्रदर्शन गर्ने वा आफ्नो ६ प्रतिशत कर्मचारी हटाउन तयार छ। द इन्फोर्मेशनको रिपोर्ट अनुसार गूगलले नयाँ र्याकिङ र प्रदर्शन सुधार योजनाका माध्यमबाट १० हजार कर्मचारी कम गर्ने योजनामा काम गरिरहेको छ।
प्रकाशित: ११ मंसिर २०७९, आईतवार