
काठमाडौं ।
नेपालमा इन्टरनेट सेवा प्रदायकको माध्यमबाट इन्टरनेट चलाउनेको संख्या बढ्दो क्रममा रहेको देखिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको एमआईएस प्रतिवेदन अनुसार २०७९ को साउन मसान्तमा इन्टरनेट सेवा प्रदायकको माध्यमबाट इन्टरनेट चलाउने २२ लाख ९९ हजार ५४ पुगेका छन्।
आईएसपीले ग्राहकका लागि वायरलेस, केबल र फाइबरबाट इन्टरेन उपलब्ध गराउँदै आएका छन्। जसमध्ये २१ लाख ७९ हजार २५० फाइबर, ९७ हजार ८४८ केबल र २१ हजार ९५६ ग्राहकले वायरलेसबाट इन्टरनेट चलाउँदै आएको प्राधिकरणको प्रतिवेदनमा देखिन्छ।
गत वर्ष २०७८ को साउनमसान्तमा आईएसपीका ग्राहक १७ लाख ११ हजार ४४५ थिए। एक वर्षको अवधिमा इन्टरनेट सेवा प्रदायकबाट इन्टरनेट प्रयोग गर्ने ग्राहक ५ लाख ८७ हजार ६०९ ले थपिएका छन्।
नेपालमा हाल नयाँ र पुरानी गरी ५८ इन्टरनेट सेवा प्रदायकले सेवा दिइरहेका छन्। गत वर्ष यस्ता सेवा प्रदायक ४४ रहेको प्राधिकरणको प्रतिवेदनमा देखिन्छ।
निश्चित ब्रोडब्यान्ड सेवामा एउटा कनेक्सन बराबर ४.३२ जनाले इन्टरनेट प्रयोग गर्ने आधारमा प्राधिकरणले ग्राहक संख्या निकालेको हो।
प्राधिकरको प्रतिवेदन अनुसार २०७९ साउन मसान्तसम्म शीर्ष ५ स्थानमा रहेका इन्टरनेट सेवा प्रदायक यस्ता छन्
वर्ल्डलिंक कम्युनिकेशन्स
प्राधिकरणको प्रतिवेदन अनुसार ग्राहक संख्याका आधारमा नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायकको रुपमा वर्ल्डलिंक रहेको छ। गत साउनमा वर्ल्डलिंकका ग्राहक ५ लाख ३० हजार ७७८ रहेका थिए। एक वर्षको अवधिमा १ लाख ४० हजार ९६० बढेर ६ लाख ७१ हजार ७३८ पुगेको छ।
नेपाल दूरसञ्चार कम्पनी
ग्राहक संख्याको आधारमा नेपाल दूरसञ्चार कम्पनी दोस्रो स्थानमा रहेको छ। नेपाल दूरसञ्चार कम्पनीको २०७९ साउनमसान्तसम्म २ लाख ९७ हजार ९७९ ग्राहक पुगेका छन्। २०७८ साउनमसान्तमा २ लाख ९२ हजार २३३ ग्राहक रहेकोमा एक वर्षको अवधिमा ५ हजार ७४६ ले ग्राहक थपिएका छन्।
सुविसु केबलनेट
सुविसु केबलनेट २ लाख ३९ हजार १५९ ग्राहक सहित तेस्रो स्थानमा छ। २०७८ को साउनमा सुविसु केबलनेटका ग्राहक २ लाख २७ हजार ९४६ थिए। एक वर्षको अवधिमा सुविसु केबलनेटका ग्राहक ११ हजार २१३ ले थपिएका छन्।
क्लासिक टेक
२ लाख ३६ हजार २४० ग्राहक सहित क्लासिक टेक तेस्रो स्थानमा छ। २०७८ साउनमा क्लासिक टेकका ग्राहक १ लाख ५९ हजार ३१ थिए। एक वर्षको अवधिमा क्लासिक टेकको ग्राहक ७७ हजार २०९ ले बढेका छन्।
भायनेट कम्युनिकेशन
भायनेट कम्युनिकेशन २ लाख ३५ हजार ८४१ ग्राहक सहित पाँचौ स्थानमा छ। २०७८ को साउनमा भायनेट कम्युनिकेशनका ग्राहक १ लाख ५६ हजार ८५३ थिए। एक वर्षको अवधिमा भायनेट कम्युनिकेशनले ७८ हजार ९८८ ले ग्राहक बढाउन सफल भएको छ।
प्रकाशित: ११ मंसिर २०७९, आईतवार