
काठमाडौं ।
इन्टरनेट सेवा प्रदायकहरुले आफूहरुले कुनैपनि वेबसाइट बन्द वा रोक्ने कार्य नगरेको बताएका छन्।
इन्टरनेट सेवा प्रदायकहरुको छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले हचुवाको भरमा कुनैपनि कन्टेन्ट वा वेबसाइट बन्द नगरिने जानकारी दिएको छ।
आइस्पानका सिईओ सुभाष खड्काले टेक्नोलोजीखबरसँग कुरा गर्दै नियमनकारी निकाय वा अधिकारिक निर्देशन बाहेक वेबसाइटहरु तथा कन्टेन्टहरु बन्द नगरिएको जानकारी दिए।
“हाम्रो नियमनकारी नेपाल दूरसंचार प्राधिकरण र अन्य आधिकारिक निकायहरु (अदालती आदेश वा सरकारको निर्णयसहितको निर्देशन) ले निर्देशन दिए बाहेक कुनैपनि कन्टेन्ट वा वेबसाइट बन्द गरिँदैन्,” उनले भने।
पछिल्लो समय सेवा प्रदायकहरुले आफूखुशी केहि वेबसाइटहरु बन्द गरेको समाचार आएको प्रति प्रतिकृया दिँदै कसैले अधिक ट्राफिक व्यवस्थापन वा अचानक ब्याण्डविथ बढेको अवस्थामा मिलाउन त्यस्तो गरेको हुनसक्ने उनको भनाई छ।
“इन्टरनेट सेवा प्रदायकहरुलाई बन्द गर्ने वा रोक्ने कुनै अधिकार हुँदैन र त्यस्तो गर्दैनन्। कहिलेकाँही प्राविधिकरुपमा बन्द भएको भएपनि पछि जानकारी पाएपछि खोल्ने गरिन्छ र हामीले खोलेका पनि छौं,” सिईओ खड्काले भने।
उनले नियम, कानूनको अधिमा रहेर काम गरिरहेको र उपभोक्ताहरुलाई गुणस्तीय इन्टरनेट सेवा दिन सेवा प्रदायकहरु प्रतिबद्ध रहेको भन्दै कुनै आशंका नगर्न समेत आग्रह गरे।
प्रकाशित: ९ मंसिर २०७९, शुक्रबार