दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले भने- ‘हामीले कुनै वेबसाइट वा एप बन्द गर्न ‘निर्देशन’ दिएका छैनौं’

  • Technology Khabar | ९ मंसिर २०७९, शुक्रबार
दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले भने- ‘हामीले कुनै वेबसाइट वा एप बन्द गर्न ‘निर्देशन’ दिएका छैनौं’

काठमाडौं ।

फिफा विश्वकप फुटबलको लाइभ प्रशारणको बारेमा शुरुवातदेखि नै विवादमा परेको छ। यसैबीच नेपालमा लाइभ स्ट्रिमिङमार्फत हेर्न सकिने एप तथा वेबसाइटमाथि इन्टरनेट सेवा प्रदायकहरुले आफूखुशी रोक लगाउन थालेका छन्।

यसले विश्वकप फुटबलको लाइभ स्ट्रिमिङमा थप विवाद निम्त्याएको छ।

उनीहरुले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन उल्लेख गरेर विश्वकप फुटबलको अनधिकृत लाइभ स्ट्रिमिङ गरेको भन्दै विभिन्न ओटीटी एप तथा वेबसाइटहरुमाथि रोक लगाएका हुन्।

उता दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले कुनै पनि एप वा वेबसाइटमा प्रतिबन्ध लगाउन ‘निर्देशन’ नदिएको टेक्नोलोजीखबरलाई बताएका छन्।

उनले वर्तमान कानून र ऐनअनुसार त्यसरी कन्टेन्ट फिल्टर गर्न नदिने भन्दै मिडिया हबको पत्रसहित सेवा प्रदायकहरुलाई बोधार्थसहितको जानकारी मात्र गराएको उल्लेख गरे।

“हामीले हाम्रो ऐनअनुसार कन्टेन्ट फिल्टरिङ्ग गर्न सक्दैनौं। र कुनै किसिमको वेबसाइट बन्द वा रोक लगाउन ‘निर्देशन’ दिएका छैनौं,” अध्यक्ष खनालले टेक्नोलोजीखबरसँगको कुराकानीमा भने, “कसैले त्यस्तो बुझेको भए गलत कुरा बुझे।”

मिडिया हबले नेपालभर प्रत्यक्ष प्रसारणको अधिकार पाएको उल्लेख गरेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अन्य अनधिकृत प्रशारण रोक्न भन्दै निवेदन दिएकोमा मन्त्रालयले पठाएको पत्रअनुसार सेवा प्रदायकहरुलाई जानकारी मात्र दिएको अध्यक्ष खनालले स्पष्ट पारे।

“मैले फेरी पनि भने हामीले बन्द गर्न कुनै निर्देशन दिएका छैनौं। उनले भने, “त्यसको लागि मन्त्रालयले हेर्ने हो। हामीले मिडिया हबको पत्रसहित अनुमति पत्र पाएका सेवा प्रदायकहरुलाई जानकारी मात्र दिएको हो।”

अध्यक्ष खनालले कन्टेन्ट फिल्टरिङ्ग आफ्नो क्षेत्रभित्र नपर्ने भन्दै त्यसको लागि छुट्टै कानून चाहिने बताए।

यसैबीच प्राधिकरणले निर्देशन दिएको भनेर आएको समाचार गलत र नबुझिकन आएको उनले जिकिर गरे। हामीले यस्तो पत्र आएको छ है भनेर उनीहरुलाई जानकारी दिने गरेको भन्दै त्यसको आधारमा सेवा प्रदायकहरुले काम गर्न सक्ने तर त्यसबारेमा प्राधिकरणले कुनै निर्देशन नदिने अध्यक्ष खनालले स्पष्ट पारे।

उनले प्राधिकरणको निर्देशन र जानकारी फरक-फरक विषय भएको भन्दै त्यसमा नझुक्किन अनुरोध गरे।

यसैबीच प्राधिकरणको अनुगमन महाशाखाले समेत कुनै त्यस्तो निर्देशन नदिएको स्पष्ट पारेको छ।

महाशाखाका एक उच्च अधिकृतले वेबसाइट बन्द गरिएको विषय प्राधिकरणको जानकारीमा आएको भन्दै त्यस बारेमा कारबाहीको प्रकृया अगाडि बढाईने बताए।

“हाम्रो सूचनालाई अनधिकृतरुपमा वेबसाइट बन्द गरेको भनेर राखिएको छ। यो सरकारी कागतपत्र किर्ते गरेको जस्तै हो,” उनले भने।

यो पनि हेर्नुस्-

दूरसञ्चार प्राधिकरणको निर्देशन बिना नै वर्ल्डकप देखाउने वेबसाइटहरु ब्लक गर्दै इन्टरनेट सेवा प्रदायक

प्रकाशित: ९ मंसिर २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार