
काठमाडौं ।
आईफोनको उत्पादन ३० प्रतिशतले घट्ने भएको छ।
चीनको झोंग्झाउ शहरस्थित फक्सकनको फ्याक्ट्रीमा कार्यरत कामदारहरुको आन्दोलनका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा उत्पादन ३० प्रतिशतसम्मले घट्न सक्ने यस विषयमा जानकार व्यक्तिले शुक्रबार रोयटर्सलाई भने।
कामदारहरुको विरोधका कारण कम्पनीले अनुमान गरेको भन्दा ३० प्रतिशतसम्म उत्पादन घट्ने बताइएको छ।
गत हप्ता प्लान्टमा कामदारहरुले आन्दोलन शुरु गरेसँगै यस महिनाको अन्त्यसम्ममा पूर्ण उत्पादन पुन शुरु गर्न कठिनाइ हुने बुझिएको छ। बुधबार कम्पनी र कामदारहरु बीच वार्ता भएसँगै विरोध प्रदर्शन साम्य भइसकेको छ।
गत महिना कोभिडको संक्रमण बढेसँगै कम्पनीले कारखाना बन्द गरेको थियो। केही कामदारहरुलाई निकाल्न र घर फर्कन प्रेरित गरेको थियो।
त्यसपछि कम्पनीले राम्रो बोनसको आश्वसन दिँदै नयाँ कामदारहरु नियुक्त गरेको थियो।
कम्पनीले आश्वासन गरे अनुरुपको बोनस तथा समयमा तलब नदिएको भन्दै कामदारहरु आन्दोलनमा उत्रिएका थिए।
प्रकाशित: ९ मंसिर २०७९, शुक्रबार