काठमाडौं ।
सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन खुला गर्न अझै एक हप्ता लाग्ने भएको छ । यातायात व्यवस्था विभागका कर्मचारी, प्रहरी र प्रदेश यातायात कार्यालयका कर्मचारीहरू निर्वाचनमा खटिएकाले विभागले नयाँ आवेदन खुला गर्न सकेको छैन ।
निर्वाचनको मत गणना अन्तिम चरणमा नपुग्दासम्म आवेदन खुलाउन सहज नहुने विभागले जनाएको छ। विभागले मङ्सिर १ गतेदेखि लाइसेन्स आवेदन बन्द गरेको थियो ।
कर्मचारीहरू निर्वाचनमा खटिनुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि नयाँ आवेदन बन्द गरेको हो । विभागले ट्राफिक प्रहरी र सम्बन्धित कार्यालयसँग समन्वय गरेर खुला गर्ने जनाएको छ।
विभागका प्रवक्ता ईश्वरीप्रसाद पनेरुले भने, “प्रहरी र प्रदेश यातायात कार्यालयसँग बिहीबार बैठक बस्दैछौँ, बैठकपछि आवेदन खुला गर्ने मिति टुङ्गो लाग्छ।”
यातायात व्यवस्था कार्यालय एकान्तकुनामा पनि नियमित काम प्रभावित भएको छ। कात्तिक २५ गतेदेखि प्रयोगात्मक (ट्रायल) र लिखित परीक्षा बन्द छ।
हाल लाइसेन्स वितरण र नवीकरणका काम भइरहेको कार्यालय प्रमुख राजकुमार कपालीले जानकारी दिए। उनले भने, “अनलाइन आवेदन खुलाउनु पर्यो, लिखित र प्रयोगात्मक खुलाउनुपर्छ, हामीले विभागसँग समन्वय गरेका छौँ, लिखित र प्रयोगात्मक मङ्सिर ११ गतेसम्म खुलाउने कुरा भएको छ।”
छिटो खुलाउन नसकेपछि सेवाग्राहीको चाप बढेर समस्या हुनसक्ने उनको भनाइ छ। गोरखापत्रबाट
प्रकाशित: ८ मंसिर २०७९, बिहीबार