
काठमाडौं ।
बागलुङ नगरपालिका बागलुङले बजार क्षेत्रका अव्यवस्थित तार र विद्युत्का पुराना पोललाई हटाउन सुरु गरेको छ।
बजार क्षेत्रको सौन्दर्यीकरणका लागि नेपाल बिद्युत् प्राधिकरण, नेपाल टेलिकमको सहकार्यमा पुराना तार र जीर्ण अवस्थामा रहेका तथा प्रयोगविहीन विद्युत्का पोल हटाउने अभियान सुरु गरिएको हो।
बजारको सडक नै अबरोध हुने गरी गाडिएका पोलका कारण ट्राफिक व्यवस्थापनमा समेत समस्या भएको छ। बजारको सौन्दर्यीकरणमा पनि असर गरेकाले जीर्ण तथा प्रयोगविहीन पोल र अव्यवस्थित तार हटाउन सुरु गरिएको बागलुङ नगरपालिका-२ का वडा सदस्य तथा पोल, तार व्यवस्थापन एवं बजार व्यवस्थापन समितिका संयोजक अर्जुन घिमिरेले जानकारी दिए।
पहिलो चरणमा बजारका मुख्य सडकमा रहेका ११० वटा पोल हटाइनेछ।
“जीर्ण तथा प्रयोगविहीन पोलहरू र अव्यवस्थित तारले बजारको सौन्दर्यमा समस्या पैदा गरेको छ” वडा सदस्य घिमिरेले भने, “बागलुङ नगरपालिकाको वडा १, २, ३ २४ मा रहेको बजार क्षेत्रका ११० वटा पोल हटाउन लागिएको हो।”
नगरपालिकाले गत वर्ष पनि केही अव्यवस्थित पोलहरू हटाए पनि बीचमा काम रोकेको थियो। यस पटक बजारमा पोल तथा तारहरू विस्थापित गर्नका लागि बागलुङ नगरपालिकाको संयोजकत्वमा नेपाल टेलिकम, बिद्युत् प्राधिकरण, केबल तथा इन्टरनेट सेवाप्रदायक कम्पनीलगायतको समिति गठन गरी अव्यवस्थित पोल हटाउन थालेको संयोजक घिमिरेको भनाइ छ।
विद्युत् प्राधिकरणले नाङ्गो तार बिस्थापित गरी नयाँ पोलमा कभरसहितको एबीसी तार राखेपछि पुराना पोल विद्युत् प्रसारणका हिसाबले प्रयोगविहीन भएका थिए। पुरानो पोलका इन्टरनेट तथा केबलका तार समस्या भएकाले विद्युत कार्यालय, नेपाल टेलिकम र निजी इन्टरनेट कम्पनीसँग सहकार्य गरेर पुराना पोल हटाइने घिमिरेले बताए।
बजार क्षेत्रमा करिब पाँच सय अव्यवस्थित पोल छन् । पोल हटाउन बिद्युत् कार्यालय, नेपाल टेलिकम र निजी इन्टरनेट कम्पनीले प्राविधिक सहयोग र नगरपालिकाको आर्थिक सहयोग हुनेछ।
“पुराना पोलहरू हटाउँदा निजी इन्टरनेट कम्पनीले आफ्ना तार नयाँ पोलमा सार्नुपर्छ,” संयोजक घिमिरेले भने, ‘तारहरू व्यवस्थित नगरे हामीले काटिदिने छौं।”
प्रकाशित: ७ मंसिर २०७९, बुधबार